चितवन क्रिकेट क्लबले जित्यो ६ हजार डलर राशीको ‘ग्रेस कप २०२६’

चितवन क्रिकेट क्लबले जित्यो ६ हजार डलर राशीको ‘ग्रेस कप २०२६’



मेलबर्न, अष्ट्रेलिया । ६ हजार डलर राशीको ग्रेस कप २०२६ चितवन क्रिकेट क्लबले जितेको छ । नेपालिज क्रिकेट एसोसिएसन भिक्टोरियाद्वारा आयोजित प्रतियोगितामा उपाधिसँगै चितवन क्रिकेट क्लबले शिल्ड र प्रमाणपत्र पनि प्राप्त गरेको छ । भिक्टोरियन नेपाली डायस्पोरामा आयोजना हुने क्रिकेट प्रतियोगितामध्ये सबैभन्दा बढी पुरस्कार राशिको यो प्रतियोगितामा कुल ९ वटा टोलीको सहभागिता रहेको थियो।

प्रतियोगिताको फाइनल खेलमा चितवन क्रिकेट क्लब र ट्राइकोन क्रिकेट क्लब बीच अत्यन्तै रोमाञ्चक प्रतिस्पर्धा भएको थियो। फाइनलमा चितवन क्रिकेट क्लबले ट्राइकोन क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै ग्रेस कप २०२६ को उपाधि जित्न सफल भएको हो ।
प्रतियोगिताको विजेता चितवन क्रिकेट क्लबले ६,००० अष्ट्रेलियन डलर नगद पुरस्कार प्राप्त गरेको थियो भने उपविजेता ट्राइकोन क्रिकेट क्लबले ३,००० अष्ट्रेलियन डलर नगद पुरस्कार प्राप्त गरेको थियो। साथै प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा प्रेस्टन तथा रिजर्भोयर क्षेत्रका सांसद नाथन ल्याम्बर्ट उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी कार्यक्रममा एनआरएनए भिक्टोरियाका संयोजक महादेव धनुक, नेपाली एसोसिएसन अफ भिक्टोरिया न्याभका उपाध्यक्ष सुदीप श्रेष्ठ, पूर्वअध्यक्ष प्रेमराज उप्रेती, युरेका इन्स्टिच्युटका सिईओ लभ शर्मा, डाइरेक्टर राज शर्मा, बिल्डर्स एकेडेमीका मार्केटिङ अफिसर श्रीजल अर्याल, लौरा एजुकेशनबाट बबिशा पाण्डे, म्याक्सिम्याक्स एजुकेशनका निर्देशक शंकर धरेल, चितवन समाजका सचिव गोविन्द पाठक, साथै ग्रेस इन्टरनेशनलका पदाधिकारीहरु उपस्थित थिए ।


उक्त कार्यक्रमको सभापतित्व नेपालिज क्रिकेट एसोसिएसन भिक्टोरिया भीएनसीएका अध्यक्ष विकास सापकोटाले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै ग्रेस इन्टरनेशनल भिक्टोरियाका निर्देशक दीपक आचार्यले अष्ट्रेलियामा क्रिकेटको समग्र विकासका लागि ग्रेस इन्टरनेशनलले निरन्तर पुर्‍याउँदै आएको योगदानबारे प्रकाश पारेका थिए भने ग्रेस कप २०२६ सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण प्रायोजकहरू, स्वयंसेवकहरू, व्यवस्थापन समितिका सदस्यहरू, विभिन्न सामुदायिक संस्थाका प्रतिनिधिहरू, सहभागी टोलीहरू तथा ग्रेस इन्टरनेशनलको सम्पूर्ण टिमप्रति धन्यवाद ज्ञापन गरेका थिए ।