एडिलेड । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया, दक्षिण अष्ट्रेलिया राज्य समन्वय परिषदले नेपाल फेस्टिभल २०२६ को मिति र स्थान सार्वजनिक गरेको छ। आगामी २८ नोभेम्बर २०२६ (शनिबार)का दिन टोरेन्स परेड ग्राउन्ड, एडिलेडमा नेपाल फेस्टिभल आयोजना गरिने भएको हो।
आज एडिलेडमा आयोजित एक कार्यक्रममा एनआरएनए दक्षिण अष्ट्रेलिया राज्य समन्वय परिषद्का संयोजक थिर गुरुङले फेस्टिभलको मिति र स्थानबारे जानकारी दिनुभएको हो। कार्यक्रममा बोल्दै उहाँले आगामी दिनमा फेस्टिभललाई अझ प्रभावकारी र समावेशी बनाउन समुदायस्तरमा परामर्श कार्यक्रम सञ्चालन गरिने तथा फेस्टिभलसम्बन्धी थप विस्तृत जानकारी क्रमशः सार्वजनिक गरिने बताउनुभयो।

प्रत्येक दुई वर्षमा आयोजना हुने नेपाल फेस्टिभल दक्षिण अष्ट्रेलियामा यस वर्ष करिब छ महिना अगावै आयोजना हुन लागेको हो। विशेष परिस्थितिका कारण यसपटक फेस्टिभललाई निर्धारित समयभन्दा अगाडि सारिएको संयोजक गुरुङले जानकारी दिनुभयो। उहाँले विगतका वर्षहरूको तुलनामा यस वर्षको फेस्टिभल अझ भव्य र आकर्षक हुने विश्वास व्यक्त गर्दै नयाँ स्थानमा आयोजना हुन लागेकाले पनि यसले विशेष महत्व राख्ने बताउनुभयो।
कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय सचिव सुजन अधिकारीले नेपाल फेस्टिवल सफल बनाउन आफु र अन्तर्राष्ट्रिय समवन्य परिषदबाट केहि सहयोग आवश्यक भए त्यसका लागि तयार रहेको बताउनुभयो। कार्यक्रममा बोल्दै एनआरएनए ओशियाना क्षेत्रीय संयोजक रमेश जोशीले नेपाल फेस्टिभल केवल एउटा सांस्कृतिक कार्यक्रम मात्र नभई नेपाली कला, संस्कृति, पर्यटन तथा पहिचानलाई मूलधारको अष्ट्रेलियाली समाजसमक्ष प्रस्तुत गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। उहाँले नेपाल फेस्टिभलले दक्षिण अष्ट्रेलियामा नेपाली समुदायको सकारात्मक पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी, पूर्व संयोजक अशोक केशीले आफ्नो कार्यकालमा नेपाल फेस्टिभलको सम्पूर्ण तयारी एक महिनाभित्र सम्पन्न गर्नुपरेको अनुभव सुनाउँदै यस वर्ष भने करिब पाँच महिनाअघि नै योजना र तयारी सुरु गरिएकाले कार्यक्रम अझ व्यवस्थित र सफल हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा बोल्दै एनआरएनए अष्ट्रेलियाकी पूर्व महिला संयोजक तथा दक्षिण अष्ट्रेलिया सरकारको बहुसास्कृतिक आयोग सदस्य मञ्जु खड्काले आफू सरकारी तहमा समेत काम गर्ने तयारीमा रहेको जानकारी दिँदै नेपाली समुदायको हितका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा एनआरएनए दक्षिण अष्ट्रेलियाको पुर्व संयोजक संजय पुरी, दीपक विष्टलगायत वर्तमान तथा पूर्व पदाधिकारीहरूको उपस्थिति रहेको थियो। उपस्थित पूर्व संयोजक तथा समुदायका अग्रजहरूले समेत आफ्ना अनुभव र सुझावहरू गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन एनआरएनए दक्षिण अष्ट्रेलिया राज्य समन्वय परिषद्का सचिव युवराज पहाडीले गर्नुभएको थियो।

आयोजकका अनुसार नेपाल फेस्टिभल २०२६ मा नेपाली कला, संस्कृति, पर्यटन, नेपाली परिकार तथा विविध सांस्कृतिक प्रस्तुतिहरू मुख्य आकर्षणका रूपमा रहनेछन्। आयोजकले नेपाली समुदाय तथा शुभेच्छुक सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।
यसैबीच, एनआरएनए दक्षिण अष्ट्रेलियाले दक्षिण अष्ट्रेलिया प्रहरीसँगको सहकार्यमा सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरेको थियो। कार्यक्रममा नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


प्रतिक्रिया