मेलबर्न । फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणसम्म पुगेको अष्ट्रेलियाको यात्रा अन्ततः इजिप्टसँगको रोमाञ्चक पेनाल्टी सुटआउटमा हार बेहोर्दै समाप्त भएको छ।
समूह चरणमा अनुशासित प्रदर्शन गर्दै अन्तिम ३२ टोलीभित्र स्थान बनाएको अष्ट्रेलियाले नकआउट चरणमा अफ्रिकी टोली इजिप्टको सामना गरेको थियो। डलासमा भएको प्रतिस्पर्धात्मक खेल निर्धारित ९० मिनेट र अतिरिक्त समयपछि १–१ को बराबरीमा सकिएको थियो।
इजिप्टले खेलको १३औँ मिनेटमा इमाम आशोरको हेडरमार्फत अग्रता लिएको थियो। दोस्रो हाफको ५५औँ मिनेटमा इजिप्टका डिफेन्डर मोहम्मद हानीबाट भएको आत्मघाती गोलले अष्ट्रेलियालाई खेलमा फर्काएको थियो।
दुवै टोलीले अतिरिक्त समयमा विजयी गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा इजिप्टले सबै चार प्रहार सफल बनायो भने अष्ट्रेलियाका कप्तान ह्यारी साउटर र युवा डिफेन्डर लुकास हेयरिङ्टनले पेनाल्टी गोल गर्न नसक्दा अष्ट्रेलिया ४–२ ले पराजित भयो।
यस हारसँगै अष्ट्रेलियाको पहिलो पटक विश्वकपको नकआउट चरण जित्ने सपना अधुरै रह्यो। यद्यपि प्रशिक्षक टोनी पोपोभिचले आफ्ना खेलाडीको प्रदर्शनप्रति गर्व व्यक्त गर्दै टोलीले भविष्यका लागि सकारात्मक संकेत दिएको बताएका छन्।
यस विश्वकपमा अष्ट्रेलियाले कठिन प्रतिस्पर्धाका बीच नकआउट चरणसम्म पुगेर आफ्नो क्षमता प्रमाणित गरेको थियो। विशेषगरी युवा खेलाडीहरूको प्रदर्शन र टोलीको अनुशासनले समर्थकहरूको मन जितेको थियो।
उता इजिप्टले भने आफ्नो इतिहासमा पहिलो पटक विश्वकपको नकआउट खेल जित्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। इजिप्टले अब अर्जेन्टिनासँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।
Photo Credit : (Photo by Hannah Peters – FIFA/FIFA via Getty Images)

प्रतिक्रिया