मेलबर्न, अष्ट्रेलिया ।
विपक्षी दलको निरन्तर आप्रवासन घटाउने दबाबकाबीच सरकारले अष्ट्रेलियाको भिसा शुल्कमा फेरि बृद्धि गरेको छ । आज जुलाई १ तारिखबाट लागू भएको नयाँ नियम अनुसार बढेको शुल्कले मुख्यत अष्ट्रेलियामा हुने आप्रवासनलाई नियन्त्रण गर्ने लक्ष्य लिएको प्रष्ट देखिन्छ ।
अष्ट्रेलियाले नयाँ आर्थिक वर्षको सुरुवातसँगै जुलाई १, २०२६ देखि अधिकांश भिसा आवेदन शुल्क बढाएको छ। नयाँ शुल्क आजदेखि लागू भएको हो, जसले विद्यार्थी, दक्ष कामदार, पार्टनर तथा पर्यटक भिसासहित विभिन्न भिसा श्रेणीका आवेदकलाई प्रत्यक्ष असर गर्नेछ।
गत वर्ष जुलाई १, २०२५ मा पनि अष्ट्रेलियाले विशेषगरी विद्यार्थी भिसाको आवेदन शुल्क उल्लेखनीय रूपमा बढाएको थियो। त्यसबेला विद्यार्थी भिसाको शुल्क १,६०० अष्ट्रेलियन डलरबाट २,००० डलर पुर्याइएको थियो। त्यसयता सरकारले आप्रवासन प्रणालीलाई थप व्यवस्थित बनाउने नीति अन्तर्गत यस वर्ष पनि विभिन्न भिसा शुल्क पुनः बढाएको हो।
सरकारले भिसा शुल्क बढाउनुका मुख्य कारणहरूमा आप्रवासन व्यवस्थापनको लागत वृद्धि, सरकारी राजस्व बढाउने आवश्यकता तथा उच्च नेट माइग्रेसन घटाउने लक्ष्य रहेको जनाएको छ। विश्लेषकहरूका अनुसार उच्च शुल्कले गैरगम्भीर आवेदन कम गर्न, आवेदन प्रक्रिया व्यवस्थित बनाउन र सार्वजनिक सेवामा पर्ने दबाब घटाउन सहयोग पुग्ने सरकारको अपेक्षा छ।
यद्यपि, अन्तर्राष्ट्रिय शिक्षा क्षेत्र, आप्रवासन विज्ञ तथा व्यवसायिक संस्थाहरूले शुल्क वृद्धिले अष्ट्रेलियालाई अध्ययन र बसाइँसराइका लागि अझ महँगो गन्तव्य बनाउने चेतावनी दिएका छन्। उनीहरूका अनुसार यसले विशेषगरी अन्तर्राष्ट्रिय विद्यार्थी र नयाँ आप्रवासीमाथि थप आर्थिक भार सिर्जना गर्नेछ।
नयाँ शुल्क जुलाई १, २०२६ वा त्यसपछि दर्ता गरिएका सबै नयाँ भिसा आवेदनमा लागू हुनेछ भने यसअघि दर्ता भएका आवेदनमा पुरानै शुल्क कायम रहनेछ।
अष्ट्रेलियाका प्रमुख भिसा शुल्क: पुरानो र नयाँ दर तुलना
- विद्यार्थी भिसा (Subclass 500):
AUD 2,000 → AUD 2,500 (AUD 500 वृद्धि) - टेम्पोररी ग्राजुएट भिसा (Subclass 485):
AUD 2,300 → AUD 5,750 (AUD 3,450 वृद्धि) - स्किल्ड इन्डिपेन्डेन्ट/स्टेट नोमिनेटेड भिसा (Subclass 189, 190, 491, 494):
AUD 4,910 → AUD 6,135 (AUD 1,225 वृद्धि) - स्किल्स इन डिमान्ड भिसा (Subclass 482):
AUD 3,210 → AUD 4,015 (AUD 805 वृद्धि) - एम्प्लोयर नोमिनेसन स्किम भिसा (Subclass 186):
AUD 4,910 → AUD 6,140 (AUD 1,230 वृद्धि) - पार्टनर भिसा (Subclass 300, 309/100, 820/801):
AUD 9,365 → AUD 11,710 (AUD 2,345 वृद्धि) - भिजिटर भिसा (Subclass 600 – विदेशबाट आवेदन):
AUD 200 → AUD 250 (AUD 50 वृद्धि) - भिजिटर भिसा (Subclass 600 – अष्ट्रेलियाभित्रबाट आवेदन):
AUD 500 → AUD 500 (कुनै परिवर्तन छैन)

प्रतिक्रिया