डार्विन । नेपालले अष्ट्रेलियामा आयोजना हुने स्टडी एनटी टप एन्ड टी–२० सिरिज २०२६ मा सहभागी हुने पहिलो अन्तर्राष्ट्रिय टोलीका रूपमा स्थान सुरक्षित गरेको छ। उत्तरी क्षेत्र क्रिकेट (NT Cricket) ले नेपाललाई प्रतियोगिताको पहिलो आधिकारिक अन्तर्राष्ट्रिय टोलीका रूपमा घोषणा गरेको हो।
प्रतियोगिता आगामी अगस्ट २० देखि ३० सम्म अष्ट्रेलियाको डार्विनमा आयोजना हुनेछ। नेपालले प्रतियोगितामा कम्तीमा छ खेल खेल्नेछ भने अन्य सहभागी टोली र पूर्ण खेल तालिका आगामी केही साताभित्र सार्वजनिक गरिने आयोजकले जनाएको छ।
नेपाल क्रिकेट संघ (CAN) का सचिव पारस खड्काले गत वर्षको प्रतियोगिताले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा ठूलो अवसर प्रदान गरेको बताए। उनका अनुसार डार्विनमा नेपाली समर्थकको उल्लेखनीय उपस्थितिले टोलीलाई हौसला मिलेको थियो भने प्रतियोगिताले टी–२० विश्वकप छनोटको तयारीमा समेत महत्वपूर्ण सहयोग पुगेको थियो।
नेपालले सन् २०२५ मा पहिलो पटक अष्ट्रेलियाको भूमिमा क्रिकेट खेलेको थियो। त्यसबेला नेपाली समर्थकहरूको उत्साहपूर्ण उपस्थितिले प्रतियोगितालाई विशेष आकर्षण बनाएको थियो। आयोजकका अनुसार नेपालको पुनरागमनले यस वर्ष पनि प्रतियोगिताको अन्तर्राष्ट्रिय आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ।
एनटी क्रिकेटका प्रमुख कार्यकारी अधिकृत गेभिन डेभीले नेपालको सहभागिताले डार्विनलाई अन्तर्राष्ट्रिय क्रिकेटको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्न थप मद्दत पुग्ने बताए। उनले नेपालका समर्थकहरूको ऊर्जा र विश्वव्यापी चासोले प्रतियोगितालाई नयाँ उचाइमा पुर्याएको उल्लेख गरे।

प्रतिक्रिया