थाइल्याण्डमा किशोरीको हत्या आरोपमा अष्ट्रेलियाली नागरिक पक्राउ

थाइल्याण्डमा किशोरीको हत्या आरोपमा अष्ट्रेलियाली नागरिक पक्राउ


बैंकक । थाइल्याण्डमा १७ वर्षीया किशोरीको शव सुटकेसभित्र फेला परेको घटनामा एक अष्ट्रेलियाली नागरिक पक्राउ परेका छन्।

थाई प्रहरीले ४५ वर्षीय अष्ट्रेलियाली नागरिक साइमन कार्मनलाई शुक्रबार बैंककस्थित सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। उनी अष्ट्रेलियाको पर्थ फर्किने तयारीमा रहेका बेला नियन्त्रणमा लिइएको अधिकारीहरूले बताएका छन्।

प्रहरीका अनुसार मृतक किशोरी टुन्चानोक डोनहोमला अन्तिम पटक पटायास्थित एक होटलमा कार्मनसँग प्रवेश गरेको सीसीटीभी फुटेजमा देखिएकी थिइन्। त्यसपछि कार्मन होटलबाट ठूलो कालो सुटकेस बोकेर बाहिर निस्किएको दृश्य पनि प्रहरीले फेला पारेको जनाएको छ।

शुक्रबार राति पटायाको रेलमार्ग नजिकै फालिएको अवस्थामा भेटिएको सुटकेसभित्र किशोरीको शव फेला परेको थियो। प्रारम्भिक अनुसन्धानमा शवमा कुटपिटका गम्भीर चोटका चिन्ह देखिएको प्रहरीले जनाएको छ।

थाई प्रहरीले कार्मनमाथि हत्या, शव लुकाउने तथा नाबालिकासम्बन्धी अन्य अपराधका आरोपमा अनुसन्धान अघि बढाएको छ। उनले भने आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका छन्।

थाइल्याण्डको कानुनअनुसार हत्या अभियोग प्रमाणित भए दोषीलाई आजीवन कारावास वा मृत्युदण्डसम्मको सजाय हुन सक्ने व्यवस्था छ।

अष्ट्रेलियाको विदेश मन्त्रालयले घटनाको पुष्टि गर्दै पक्राउ परेका अष्ट्रेलियाली नागरिकलाई आवश्यक कन्सुलर सहायता उपलब्ध गराइरहेको जनाएको छ। अनुसन्धान जारी रहेको थाई प्रहरीले जनाएको छ।