मेलबर्न । अस्ट्रेलियन बोर्डर फोर्स नेतृत्वको नेशनल डिसरप्सन ग्रुपले भिक्टोरिया र तास्मानियामा सञ्चालन गरेको संयुक्त कारबाहीमा ठूलो परिमाणमा अवैध चुरोट, सुर्ती तथा भेपिङ सामग्री बरामद गरेको छ।
१५ देखि १९ जुन २०२६ सम्म सञ्चालन गरिएको ‘अपरेशन टेम्पेस्ट’ अन्तर्गत २० वटा स्थानमा एकसाथ छापा मारिएको थियो। कारबाहीका क्रममा १२ वटा खुद्रा पसल, पाँच गोदाम, तीन हुलाक वितरण केन्द्र तथा मेलबर्न आएका छ अन्तर्राष्ट्रिय उडानका यात्रुको समेत निगरानी गरिएको थियो।
यस अभियानमा करिब २० लाख अवैध चुरोट, १.९७ टनभन्दा बढी खुला सुर्ती तथा ७ हजारभन्दा बढी भेपिङ उपकरण र त्यससँग सम्बन्धित सामग्री बरामद गरिएको छ। साथै ७१ हजार अस्ट्रेलियन डलरभन्दा बढी नगद पनि जफत गरिएको छ।

अधिकारीहरूका अनुसार अवैध कारोबारका कारण सरकारले झण्डै ७.९ मिलियन अस्ट्रेलियन डलर बराबरको राजस्व गुमाउन सक्ने अवस्था रहेको थियो। अभियानका क्रममा ७६ हजार डलरभन्दा बढी जरिवाना तथा बक्यौता असुल गरिएको छ भने भिक्टोरियामा अवैध सुर्ती कारोबारसँग सम्बन्धित सात जना शंकास्पद व्यक्तिको पहिचान गरिएको छ।

भिक्टोरियामा गरिएको कारबाहीमा १६ लाखभन्दा बढी अवैध चुरोट, १.८ टन खुला सुर्ती, ५ हजार ४ सयभन्दा बढी भेपिङ उपकरण, ११ हजारभन्दा बढी निकोटिन पाउच, २ हजारभन्दा बढी नाइट्रस अक्साइड क्यानिस्टर तथा ७१ हजार डलरभन्दा बढी नगद बरामद भएको छ।
यस्तै तास्मानियाका चारवटा ढुवानी केन्द्रमा गरिएको कारबाहीमा ३ लाख ६५ हजारभन्दा बढी अवैध चुरोट, १५६ किलोग्राम खुला सुर्ती र १ हजार ६ सयभन्दा बढी भेपिङ उपकरण जफत गरिएको छ।
अस्ट्रेलियन बोर्डर फोर्सका कमान्डर ग्रेग डाउसेले सस्तो मूल्यमा गोप्य रूपमा बिक्री हुने अवैध चुरोट खरिद गर्दा लागुऔषध तस्करी, हिंसा र अन्य संगठित अपराधलाई आर्थिक सहयोग पुग्ने भएकाले यस्ता अवैध सञ्जालविरुद्ध कडा कारबाही जारी रहने बताए।
थेराप्युटिक गुड्स एडमिनिस्ट्रेशन (TGA) ले अवैध भेपिङ उत्पादनले विशेषगरी युवाहरूको स्वास्थ्यमा गम्भीर जोखिम सिर्जना गर्ने भएकाले यसको आपूर्ति नियन्त्रण गर्न सम्बन्धित सबै निकायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाइएको जनाएको छ।
नेशनल डिसरप्सन ग्रुपले अभियानबाट सङ्कलन भएका सूचनाको थप विश्लेषण गरी भविष्यमा अवैध सुर्ती तथा भेपिङ कारोबारमा संलग्न आपराधिक सञ्जालविरुद्ध थप कारबाही सञ्चालन गर्ने जनाएको छ।

प्रतिक्रिया