एनआरएनए साउथ अष्ट्रेलियाको आयोजनामा निःशुल्क फर्स्ट एड तथा सीपीआर तालिम

एनआरएनए साउथ अष्ट्रेलियाको आयोजनामा निःशुल्क फर्स्ट एड तथा सीपीआर तालिम


एडिलेड, अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) साउथ अष्ट्रेलियाको आयोजनामा नवआगन्तुक नेपाली विद्यार्थी तथा सामुदायिक स्वयंसेवकहरूका लागि निःशुल्क ‘फर्स्ट एड’ तथा ‘सीपीआर’ तालिम सम्पन्न भएको छ।

म्यारियन रोडस्थित अचिभर्स कलेजमा आयोजित तालिममा २१ जना सहभागी भएका थिए। तालिममा आपतकालीन अवस्थामा आवश्यक प्राथमिक उपचार, बिरामीको श्वासप्रश्वास तथा मुटुको धड्कन बन्द भएको अवस्थामा सीपीआरमार्फत जीवन बचाउने विधिबारे व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो।

अचिभर्स कलेजका प्रशिक्षक कृष्ण गौतमले सहभागीहरूलाई प्रत्यक्ष अभ्यासमार्फत तालिम दिएका थिए।

कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै एनआरएनए साउथ अष्ट्रेलियाका संयोजक थिर गुरुङले दैनिक जीवन तथा विभिन्न रोजगारीका क्षेत्रमा आवश्यक पर्ने प्राथमिक उपचार र सीपीआरसम्बन्धी ज्ञान समुदायसम्म पुर्‍याउने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

युवा संयोजक संगम पाण्डेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने अचिभर्स कलेज, सहभागी तथा सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।

एनआरएनए साउथ अष्ट्रेलियाका कोषाध्यक्ष बसन्त सापकोटाले सामान्यतया यस्ता तालिमका लागि प्रति व्यक्ति करिब १५० अष्ट्रेलियन डलर खर्च लाग्ने भए पनि अचिभर्स कलेजको सहयोगमा निःशुल्क रूपमा सञ्चालन गरिएको जानकारी दिनुभयो। यसले विशेषगरी नवआगन्तुक विद्यार्थीहरूलाई महत्वपूर्ण सहयोग पुगेको उहाँको भनाइ थियो।

समुदायमा आवश्यक ज्ञान, सीप र सुरक्षा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता समुदायमुखी तथा सीपमूलक कार्यक्रमहरूलाई निरन्तरता दिइने एनआरएनए साउथ अष्ट्रेलियाका सचिव युवराज पहाडीले बताउनुभयो।

फोटो/एनआरएनए साउथ अष्ट्रेलिया फेसबुक पेज