रास्वपाको महाधिवेशनमा सहभागी हुँदै अन्य दलका शीर्ष नेता

रास्वपाको महाधिवेशनमा सहभागी हुँदै अन्य दलका शीर्ष नेता

गगन थापा, राजेन्द्र लिङदेन पुगे चितवन




काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो केन्द्रीय महाधिवेशन चितवनमा सुरू हुँदैछ । चितवनको भरतपुर १० स्थित गेस्ट हाउस चौरमा महाधिवेशन उद्घाटन समारोह हुन लागेको हो । उद्घाटन समारोहमा रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले सम्बोधन गर्ने छन् । बालेनको सम्बोधन संक्षिप्त हुने निश्चित नै छ । यस्तै अन्य राजनीतिक दलका शीर्ष नेतातर्फ नेपाली काँग्रेसका सभापति गगन थापा, राप्रपाका राजेन्द्र लिङदेन, नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुग्ने तय भएको छ । स्वास्थय अवस्था सुध्रिए मात्रै जाने बताएका प्रचण्ड चितवनमा नै भएको कार्यक्रममा सहभागी हुने निर्णयमा पुगेका थिए ।
उद्घाटन कार्यक्रमको सञ्चालन महामन्त्रीद्वय कवीन्द्र बुर्लाकोटी र भूपदेव शाहले संयुक्तरूपमा गर्ने छन् । रास्वपाका जिल्ला अध्यक्ष मिनी माधव खनाल र महानगर अध्यक्ष सीता ज्ञवालीलाई स्वागत मन्तव्य दिन तोकिएको छ ।
महाधिवेशनमा शुभकामना दिन राष्ट्रिय मान्यताप्राप्त सबै पार्टीहरुलाई रास्वपाले निमन्त्रण गरेको छ । एमालेले प्रदीप ज्ञवाली र नेकपाले वर्षामान पुनलाई प्रतिनिधिका रुपमा पठाउने भएको छ ।
श्रम संस्कृति पार्टीले भने प्रतिनिधि पठाउनेबारे केही जानकारी दिएको छैन । सो पार्टीका अध्यक्ष हर्क साम्पाङले महाधिवेशनमा निम्ता आए पनि नजाने पूर्वघोषणा गरेका थिए ।
रास्वपाका एक पदाधिकारीका अनुसार अन्य पार्टीबाट अध्यक्ष, उपाध्यक्ष र महामन्त्री वा त्यही तहका नेता आएको खण्डमा उनीहरूलाई मञ्चबाट शुभकामना मन्तव्य राख्न दिइनेछ । त्यस मापदण्डअनुसार कांग्रेस सभापति थापा र राप्रपाका अध्यक्ष लिङदेनले बोल्न पाउने भएका छन् ।