चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति १५८ सदस्यीय हुने भएको छ। अन्तिम केन्द्रीय समिति बैठकले पारित गरेको संशोधित विधानअनुसार १५१ जना महाधिवेशनबाट निर्वाचित हुनेछन् भने सातै प्रदेशका सभापति स्वतः केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ । विधान संशोधन उपसमितिका सदस्य तथा रास्वपा नेता गणेश पराजुलीका अनुसार संशोधित विधानबमोजिम चितवनमा सुरु हुने महाधिवेशनले १९ पदाधिकारीसहित नयाँ केन्द्रीय समिति चयन गर्नेछ।
पदाधिकारीमा एक सभापति, एक वरिष्ठ नेता, एकजना महिला अनिवार्यसहित तीन उपसभापति, दुई महामन्त्री, एकजना महिला अनिवार्यसहित पाँच सहमहामन्त्री, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष, एक प्रवक्ता र तीन सहप्रवक्ता रहनेछन्। यसरी पदाधिकारीको सङ्ख्या १९ पुग्नेछ।

संशोधित विधानअनुसार सात प्रदेशका सभापति स्वतः केन्द्रीय सदस्य रहनेछन् । त्यसबाहेक १५१ सदस्यीय संरचनामध्ये ५१ जना केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्न पाउने व्यवस्था गरिएको छ । बाँकी १०० जनामध्ये एक जना सभापति स्वयं रहनेछन् भने ९९ जना निर्वाचन प्रक्रियाबाट चयन हुनेछन्।
पराजुलीका अनुसार निर्वाचनबाट चयन हुने ९९ जनामध्ये ३५ जना सातै प्रदेशबाट पाँच–पाँच जनाका दरले निर्वाचित हुनेछन्। प्रदेश क्लस्टरबाट निर्वाचित हुने पाँच जनामध्ये कम्तीमा दुई जना महिला अनिवार्य रहने व्यवस्था गरिएको छ। बाँकी तीन जनामा जनसंख्याका आधारमा जनजाति, मधेसी, थारूलगायत समुदायको प्रतिनिधित्व सुनिश्चित गरिएको छ।
त्यसैगरी बाँकी ६४ जनामध्ये ३२ जना खुला प्रतिस्पर्धाबाट निर्वाचित हुनेछन्। यस समूहमा महिला, पुरुष तथा अन्य सबैले प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था गरिएको छ। बाँकी ३२ जना भने समावेशिताको सिद्धान्तअनुसार निर्वाचित हुने गरी विधान संशोधन गरिएको पराजुलीले जानकारी दिए।
रास्वपाले संशोधित विधानमार्फत प्रदेश, जिल्ला र पालिका तहका नेतृत्वमा दुई उपसभापति रहने व्यवस्था पनि गरेको छ। समावेशिताको भावना व्यवहारमा कार्यान्वयन गर्न एक जना अनिवार्य महिला उपसभापति रहने गरी थप उपसभापतिको व्यवस्था गरिएको पराजुलीले बताए।

रास्वपाका ४ हजार २ सय ११ प्रतिनिधि
रास्वपाको पहिलो महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ। सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट उनीहरू चुनिएका हुन् । पार्टी सचिवालयका सङ्गठन विभागका अनुसार ३३ देशका प्रवास सम्पर्क विभागबाट एक सय ७० जना, विधानअनुसार पार्टी सभापतिबाट १३८ जना मनोनयन भइसकेका छन् भने समूहगत रूपमा पार्टी प्रवेश गरेकालाई १९२ जनालाई चयन गरिएको छ।
कोसी प्रदेशबाट ३६४, मधेसबाट ६३०, बागमतीबाट ७९४, लुम्बिनीबाट ६२१, गण्डकीबाट ४५४, कर्णालीबाट ३४३ र सुदूरपश्चिमबाट ५०५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने छन्। महाधिवेशन प्रतिनिधिका रूपमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित पाँच जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ। प्रदेश समितिका सबै सदस्यहरू, प्रदेशस्तरीय विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारी पनि प्रतिनिधि भएका छन्।
यसैगरी, सङ्घीय नेतृत्व मञ्चका सबै केन्द्रीय सदस्य, केन्द्रमा रहेका ३८ वटा विभागबाट ११–११ जनाका दरले सदस्य तथा केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगबाट ११–११ जनाको प्रतिनिधित्व भएको छ। प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि भएका छन्। प्रदेश सम्पर्क विभागबाट तीन–तीन जना र जिल्ला सम्पर्क विभागबाट एक–एक जना प्रतिनिधि हुने व्यवस्था छ। गत प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका तर्फबाट पराजित तथा समानुपातिक सूचीका व्यक्ति पनि प्रतिनिधि भएका छन्।
साथै, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित समानुपातिक सूचीका र पार्टीमा सक्रिय व्यक्तिलाई पनि प्रतिनिधि बनाइएको छ।
केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्य पनि महाधिवेशन प्रतिनिधि भएका छन्।

प्रतिक्रिया