काठमाडौं । नेपालका लागि जर्मनीका राजदूत उदो भोल्जले प्रधानमन्त्री कार्यालयमा भएको आफ्नो भेटघाटबारे मिडियामा आएका दाबीप्रति स्पष्टीकरण दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीको सचिवालयका सदस्यहरूले अपमान गरेको भन्ने समाचारहरू प्रकाशित भएपछि राजदूतले सामाजिक सञ्जाल एक्समा यस्तो बताएका हुन् ।
उनले गएको सोमबार आफू प्रधानमन्त्री कार्यालयमा गएको पुष्टि गरे । तर, के कस्तो कुराकानी भएको थियो भन्ने खुलाएका छैनन् । उनले आफ्नो भेटघाटबारे विभिन्न तरिकाले रिपोर्टिङ गरिएको बताएका छन् ।
यस विषयमा आफू वा जर्मन दूतावासले पत्रकारहरूसँग कुनै छलफल नगरेको उनले बताए । “नेपालका मिडिया आउटलेटहरूले मेरो हालैको प्रधानमन्त्री कार्यालय भ्रमणबारे विभिन्न ढंगले रिपोर्टिङ गरिरहेका छन्,” राजदूत भोल्जले लेखेका छन्, “मैले व्यक्तिगत वा जर्मन दूतावासले यस विषयमा पत्रकारहरूसँग कुनै कुराकानी गरेको छैन र यस सम्बन्धमा कुनै प्रकाशनलाई अधिकार दिएको छैन ।”

प्रतिक्रिया