विगत १०० दिनभन्दा लामो समयदेखि जारी भीषण युद्धलाई समाप्त गर्दै अमेरिका र इरान आगामी शुक्रबार एक ऐतिहासिक ‘शान्ति सम्झौता’मा हस्ताक्षर गर्न सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी शुक्रबार दुई देशबीच औपचारिक सम्झौता हुने घोषणा गरेका हुन्, जसलाई इरानले पनि पुष्टि गरेको छ ।
मध्यस्थकर्ताहरू र दुवै पक्षका अनुसार ऐतिहासिक सम्झौतामा युद्धविराम, सैन्य नाकाबन्दीको अन्त्य र रोक्का गरिएका वित्तीय सम्पत्तिको फुकुवाजस्ता महत्त्वपूर्ण विषयहरू समावेश रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
युद्धविरामको सुखद खबर सबैभन्दा पहिले वासिङ्टन र तेहरानबीच अप्रत्यक्ष वार्ताको मध्यस्थता गरिरहेको देश पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले आइतबार सामाजिक सञ्जाल ुएक्सु मार्फत सार्वजनिक गरेका थिए । सरिफले लेबनानसहित सबै मोर्चामा सैन्य कारबाही पूर्ण र स्थायी रूपमा बन्द गर्ने सहमति भएको जानकारी दिए । त्यसको केही समयपछि अमेरिकी राष्ट्रपति ट्रम्पले पनि आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै यसको पुष्टि गरे । उनले लेखेका छन्, ‘इस्लामिक गणतन्त्र इरानसँगको सम्झौता अब पूर्ण भएको छ।’
ट्रम्पका अनुसार सम्झौताले रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज जलमार्गलाई विनाकुनै महसुल पूर्ण रूपमा खुला गर्ने अनुमति दिनेछ र यसको बदलामा अमेरिकाले पनि इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी तुरुन्तै हटाउनेछ।
यसअघि ट्रम्पले द वासिङ्टन पोस्टसँग कुरा गर्दै आफूले इरानसँगको सम्झौताको घोषणा चाँडै गर्न लागेको बताएका थिए । पत्रिकाका अनुसार उक्त सम्झौतामा उनी आफैँले वा उपराष्ट्रपति जेडी भान्सले इलेक्ट्रोनिक माध्यमबाट (डिजिटल्ली) हस्ताक्षर गर्ने योजना बनाएका छन् । पछि ‘द न्युयोर्क टाइम्स’ सँगको अन्तर्वार्तामा ट्रम्पले मध्यपूर्व क्षेत्रको कुल राजस्वको २० प्रतिशत हिस्सा अमेरिकालाई दिने सर्तमा अमेरिकाले पुनः सैन्य परिचालन गर्न सक्ने वा मध्यपूर्वको संरक्षक बन्न सक्ने विवादास्पद टिप्पणी समेत गरेका थिए । यद्यपि यो अन्तर्वार्ता सम्झौताको औपचारिक घोषणा हुनुअघि वा पछि लिइएको हो भन्ने कुरा स्पष्ट भइसकेको छैन।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन र राष्ट्रिय सुरक्षा टोलीका वरिष्ठ सदस्यहरूले यस कदमको स्वागत गरेका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो घोषणा राष्ट्रपतिको जन्मदिनकै अवसरमा परेको भन्दै ट्रम्पलाई बधाई दिएका छन् । उनले एक्समा लेखेका छन्, ‘अमेरिका यस्तो अविश्वसनीय साहस, अद्वितीय शक्ति, अद्भुत हास्यचेत र देशप्रतिको अगाध प्रेम भएको नेता पाउनुमा भाग्यमानी छ। जन्मदिनको शुभकामना, मिस्टर प्रेसिडेन्ट!’
इरानका तर्फबाट कानुनी तथा अन्तर्राष्ट्रिय मामिलाका उप–विदेशमन्त्री काजेम घारिबाबादीले सैन्य कारबाही छिट्टै अन्त्य हुन लागेको पुष्टि गरेका छन्। इरानको समाचार एजेन्सीका अनुसार घारिबाबादीले सोमबारदेखि लेबनानसहित विभिन्न मोर्चाहरूमा तत्काल र स्थायी रूपमा युद्ध अन्त्य हुने बताएका छन्।
उनले अन्तिम सम्झौताका लागि ६० दिनको कार्यअवधि तय गरिएको र यस अवधिमा अमेरिकाले आफ्ना प्रतिबद्धताहरू पूरा गरेरनगरेको इरानले सूक्ष्म रूपमा प्रमाणिकरण गर्ने बताए । अमेरिकाले युद्ध रोक्नुपर्ने, नौसैनिक नाकाबन्दी हटाउनुपर्ने र इरानको रोक्का गरिएको सम्पत्ति फुकुवा गर्नुपर्ने सर्तहरू सामेल छन् ।
इरानी समाचार संस्था ुमेहरु का अनुसार तयार पारिएको मस्यौदा सम्झौतामा मुख्य १४ बुँदाहरू रहेका छन्। जसमध्ये प्रमुख विषयहरू निम्न बमोजिम छन्स्
- लेबनानसहित सबै मोर्चाहरूमा तत्काल र स्थायी रूपमा शत्रुतापूर्ण सैन्य कारबाहीको अन्त्य।
- आगामी ३० दिनभित्र इरानमाथि लगाइएको पूर्ण नौसैनिक नाकाबन्दी हटाउनुपर्ने।
- इरानको वरपरको क्षेत्रबाट अमेरिकाले आफ्ना सैन्य बलहरू फिर्ता लैजानुपर्ने।
- हर्म्युज जलमार्गलाई व्यावसायिक जहाजहरूका लागि पुनः खुला गरिने।
- इरानको तेल बिक्रीमा लगाइएको प्रतिबन्ध निलम्बन गरिने।
- सम्झौतामा हस्ताक्षर भएको ६० दिनभित्र आणविक मुद्दाहरूमा अन्तिम टुङ्गो लगाइने।
- ६० दिने वार्ताको अवधिभित्र अमेरिकाद्वारा रोक्का गरिएको इरानको २४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति फुकुवा गरिने।
इरानको आधा सम्पत्ति फुकुवा नभएसम्म र हर्मुजको प्रतिबन्ध पूर्ण रूपमा नहटेसम्म अन्तिम चरणको वार्ता शुरू हुने छैन । यस पटकको वार्ताको कार्यसूचीबाट इरानको मिसाइल कार्यक्रम र क्षेत्रीय प्रतिरोधी समूहहरूलाई गरिने सहयोगसम्बन्धी विवादित विषयहरूलाई पूर्ण रूपमा हटाइएको छ । यद्यपि, समाचार एजेन्सी ‘अल जजिरा’ले यी बुँदाहरूको स्वतन्त्र रूपमा पुष्टि गर्न बाँकी रहेको जनाएको छ।
मध्यस्थकर्ता मुलुकहरूको भूमिका
युद्धविराम गराउन पाकिस्तान र कतारले मुख्य मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका छन् । पाकिस्तानी प्रधानमन्त्री सरिफले मध्यस्थकर्ताहरूले यसै हप्ता प्राविधिक वार्ता र अन्य तयारीका लागि शृङ्खलाबद्ध बैठकहरू आयोजना गर्ने बताए । उनले यस ऐतिहासिक मोडमा आइपुग्न सहयोग गरेकोमा अमेरिका र इरानसहित कतार, साउदी अरब र टर्कीका दूरदर्शी नेतृत्वलाई विशेष धन्यवाद दिए।
कतारको विदेश मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै अमेरिका र इरानबिच बाँकी रहेका विवादित मुद्दाहरू सम्बोधन गर्ने गरी समझदारी पत्रको मस्यौदा तयार भएकोमा स्वागत गरेको छ । कतारले हर्मुज खुला हुनुलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय रूपमा दिगो शान्ति र आर्थिक वृद्धिका लागि एउटा महत्त्वपूर्ण कदम भनेको छ। कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीले पनि वार्ता सफल बनाउन भूमिका खेल्ने सबै क्षेत्रीय र अन्तर्राष्ट्रिय पक्षहरूको प्रशंसा गरे।
यो युद्धले सामुद्रिक ढुवानीमा सोचेभन्दा धेरै लामो समय अवरोध पुर्याएको छ । यसका साथै कतार, साउदी अरब र कुवेत जस्ता खाडी देशहरूका तेल र ग्यास उत्पादन सुविधाहरूमा पनि युद्धका कारण ठुलो क्षति पुगेको छ, जसलाई पुनर्निर्माण गर्न समय लाग्नेछ।
प्राध्यापक वेइटका अनुसार यदि सबै कुरा शान्तिपूर्ण, सुचारु र स्थिर रूपमा अगाडि बढेमा पनि हर्मुजको व्यापारिक यातायात युद्धपूर्वको सामान्य अवस्थामा फर्कन कम्तीमा केही महिना लाग्ने देखिन्छ ।

प्रतिक्रिया