भ्यानकुभर । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को उद्घाटन खेलमा अस्ट्रेलियाले टर्कीलाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको अष्ट्रेलिया अब आयोजक राष्ट्र अमेरिकासँग यो शुक्रबार भिड्दैछ । प्रतियोगितामा २४ वर्षपछि फर्किएको टर्कीविरुद्ध अस्ट्रेलियाले अनुशासित खेल प्रदर्शन गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो।
अस्ट्रेलियाका लागि पहिलो गोल युवा फरवार्ड नेस्टोरी इरानकुन्डाले २७औँ मिनेटमा गरे। तीव्र गतिमा विपक्षी रक्षापंक्ति छिचोल्दै उनले उत्कृष्ट फिनिसिङमार्फत टोलीलाई अग्रता दिलाए। दोस्रो हाफको ७५औँ मिनेटमा कोनर मेटकाल्फेले शक्तिशाली प्रहारमार्फत अर्को गोल थप्दै अस्ट्रेलियाको जित सुनिश्चित गरे।
खेलमा टर्कीले ७८ प्रतिशत बल नियन्त्रण राख्दै लगातार आक्रमण गरे पनि अस्ट्रेलियाका युवा गोलरक्षक प्याट्रिक बीच चट्टानझैँ उभिए। उनले आठ महत्वपूर्ण बचाउ गर्दै टर्कीका सबै प्रयास विफल पारे। बीचको प्रदर्शनलाई धेरै विश्लेषकहरूले खेलको निर्णायक मोडका रूपमा व्याख्या गरेका छन्।
२२ वर्षीय बीचले विश्वकप डेब्यु खेलमै अस्ट्रेलियाका लागि नयाँ कीर्तिमानसमेत बनाए। उनले एकै विश्वकप खेलमा आठ बचाउ गर्ने पहिलो अस्ट्रेलियन गोलरक्षकको कीर्तिमान कायम गरेका छन्। पहिलो खेलमा शादार तीन अंकको जीत हासिल गरेपछि अष्ट्रेलियामा यस पटकको टिमका लागि धेरै नै अपेक्षा बढेको छ ।
टर्कीका युवा स्टार अर्दा गुलरले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्। अस्ट्रेलियाको संगठित रक्षापंक्ति र गोलरक्षक बीचको उत्कृष्ट प्रदर्शनका कारण टर्की निराश बन्न पुग्यो।


प्रतिक्रिया