डार्विनमा नेपाल फेष्टिभलको रौनक, वाटरफ्रन्टमा शनिबार नेपालीपन झल्कने !

डार्विनमा नेपाल फेष्टिभलको रौनक, वाटरफ्रन्टमा शनिबार नेपालीपन झल्कने !



डार्विन, अष्ट्रेलिया । अष्ट्रेलियाको उत्तरी शहर डार्विनमा यो शनिबार नेपाल फेष्टिभलको अर्को संस्करण आयोजना हुँदैछ । एनआरएन नर्दन टेरेटोरीको आयोजनामा हुन लागेको नेपाल फेष्टिभलमा प्रमुख अतिथिको रुपमा त्यहाँका मुख्यमन्त्री लिया फिनोचियारो सहभागी हुँदैछिन् । नेपाल फेष्टिभलको तयारीबारे जानकारी दिन बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा संयोजक त्रिलोचन सापकोटाले दिएको जानकारी अनुसार यस पटक नेपाल फेष्टिभलमा नेपाली दूतावास क्यानबेराले पनि स्टल राखेर आफुले प्रदान गर्दै आएको सेवाबारे जानकारी गराउनेछ भने नेपाल पर्यटन बोर्डको तर्फबाट नेपाल भ्रमणका निम्ति जानकारीसहितको ब्रोसरहरु बाँड्ने कार्यक्रम पनि राखिएको छ ।

डार्विनमा बसोबास गर्ने नेपालीहरुको योगदानको सम्मान गर्दै त्यहाँको राज्य सरकारले तीन वर्षका लागि २ लाख १० हजार डलर आर्थिक सहायता गरेपछि अन्य राज्यमा दुई वर्षमा एक पटक आयोजना हुँदै आएको नेपाल फेष्टिभल डार्विनमा भने हरेक वर्ष हुने गरेको छ । कूल १ लाख ८० हजार डलरको लागतमा हुन लागेको नेपाल फेष्टिभलमा नेपाली व्यवसाय, अष्ट्रेलियन स्थानीय व्यवसायहरुको पनि दरिलो साथ भएका कारण भव्यताका साथ आयोजना गर्न सम्भव भएको जानकारी सापकोटाले दिए । उनले ५० भन्दा बढी अन्य राज्यबाट अतिथिहरु पनि नेपाल फेष्टिभलमा सहभागी हुने तय भइसकेको जानकारी गराएका छन् ।

कार्यक्रममा बोल्दै एनआरएन नर्दन टेरेटोरीका पूर्वसंयोजक सन्जीव गोर्खालीले नेपाली मनहरुलाई जोड्ने र यहाँको बृहत्तर बहुसांस्कृतिक समाजमा आफ्नो उपस्थिति उजागर गर्ने कार्यमा नेपाल फेष्टिभल उद्देश्य अनुरुप सफल भएको बताए । यस्तै पत्रकार सम्मेलनमा बोल्दै नेपाल फेष्टिभलका संयोजक निरज देवकोटाले ९० प्रतिशत तयारीको काम सम्पन्न भइसकेको बताए । उनले अतिथिहरुलाई स्वागत गर्न अतुर रहेको भन्दै सहभागी हुन आह्वान गरेका छन् ।

यस पटकको नेपाल फेष्टिभलमा करिब १० हजार दर्शक सहभागी हुने अपेक्षा छ । नेपाल फेष्टिभलमै सहभागी हुन नेपाली लोकगायक अर्जुन सापकोटा, स्थानीय कलाकारहरुले तयारी सम्पन्न गरिसकेका छन् । शनिबार मध्यान्हदेखि राति आतिशबाजीसम्म नै विभिन्न गतिविधि मार्फत उपस्थित दर्शकलाई मनोरञ्जन दिलाउने तयारी छ । नेपाल फेष्टिभलमा नेपाली मौलिक कला, संस्कृतिक झल्कने विभिन्न स्टलहरुका साथै खानाका स्टलहरु समेत रहनेछन् ।