टीएनसीए अवार्ड्स नाइट तथा वार्षिक साधारणसभा २०२६ आयोजना हुँदै

टीएनसीए अवार्ड्स नाइट तथा वार्षिक साधारणसभा २०२६ आयोजना हुँदै


तास्मानियन नेपालीज क्रिकेट एसोसिएसन (टीएनसीए) ले “टीएनसीए अवार्ड्स नाइट, गाला डिनर तथा वार्षिक साधारणसभा २०२६” आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी जुन १४ गते आइतबार क्लारेमोन्टस्थित डाँफे नेपाली रेष्टुरेन्टमा आयोजना हुने जनाइएको छ।

कार्यक्रमअन्तर्गत सन् २०२५/२६ सिजनका उत्कृष्ट खेलाडी, स्वयंसेवक, प्रायोजकहरू तथा क्रिकेट क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिनेछ। दिउँसो ४ बजेदेखि अवार्ड समारोह तथा गाला डिनर सुरु हुने तथा साँझ ७ बजेदेखि वार्षिक साधारणसभा सञ्चालन गरिने आयोजकले जनाएको छ। कार्यक्रममा कलाकार मान्सी घिमिरेको विशेष सांस्कृतिक नृत्य प्रस्तुति रहनेछ भने सहभागीहरूका लागि डिनरको व्यवस्था गरिएको छ।

टीएनसीएका अध्यक्ष कमल भण्डारीका अनुसार टीएनसीएले तास्मानियामा नेपाली क्रिकेटको विकास र विस्तारका लागि निरन्तर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले टीएनपीएल, जुनियर ब्लास्टर्स महिला तथा टी–२० क्रिकेट लिग जस्ता प्रतियोगितामार्फत युवा तथा महिला खेलाडीहरूलाई क्रिकेटतर्फ आकर्षित गर्दै नयाँ प्रतिभा उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको जनाएको छ।

यस वर्ष पनि टीएनसीएले आफ्नो कार्यसमिति सदस्यहरूलाई तीन विधामा विशेष सम्मान प्रदान गर्ने भएको छ। जसअन्तर्गत “टीएनसीए स्टार अवार्ड”, “ टीएनसीए प्रेसिडेन्सियल अवार्ड” तथा “टीएनसीए इमर्जिङ लिडर अवार्ड” प्रदान गरिनेछ। साथै ४० वर्षभन्दा माथिका खेलाडीहरूलाई सम्मान गर्न “भेट्रान अवार्ड” समेत प्रदान गरिने कार्यक्रम रहेको टीएनसीएले जनाएको छ।

अध्यक्ष भण्डारीले केबीसी खबरलाई जानकारी दिँदै यस्ता सम्मान कार्यक्रमहरूले आगामी पुस्तालाई खेलकुदतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे। साथै यस वर्ष पनि टीएनसीएका लाइफ मेम्बरहरूलाई सम्मान तथा समर्पण गरिने कार्यक्रम रहेको उनले बताए।

क्रिकेट खेल मात्र नभई नेपाली समुदायलाई एकताबद्ध बनाउने महत्वपूर्ण माध्यम बनेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी र सहभागितामूलक कार्यक्रमहरू सञ्चालन गरिने टीएनसीएले जनाएको छ। कार्यक्रममा सम्पूर्ण नेपाली समुदाय, क्रिकेटप्रेमी तथा खेलाडीहरूलाई सहभागी भई कार्यक्रम सफल बनाउन आग्रह गरिएको छ।

टीएनसीएले वार्षिक साधारणसभामा सहभागी हुनका लागि २०२६/२७ आर्थिक वर्षको वैध सदस्यता अनिवार्य रहेको जनाएको छ।