कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था चिन्ताजनक

कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था चिन्ताजनक


भदौ ३, काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरिलाई बिहीबारदेखि नन् इन्भेसिभ भेन्टिलेटर (एनआईभी)मा राखिएको छ ।

नेता गिरि क्रिटिकल अवस्थामा रहेको अस्पतालले जनाएको छ । भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किएका उनी स्वास्थ्यमा समस्या भएपछि साउन दोस्रो साता मेडिसिटीमा भर्ना भएका थिए ।

उपचाररत नेता गिरिको कांग्रेसका नेता विमलेन्द्र निधिले आज स्वास्थ्यको जानकारी लिएका थिए। गिरिको स्वास्थ्य अवस्थामा जानकारी लिन शुक्रबार मेडिसिटी अस्पातल पुगेका उनले गिरिको अवस्थाले आफू स्तब्ध भएको बताएका छन्।

ललितपुरस्थित मेडिसिटी अस्पतालबाट फर्किंदै गर्दा सामाजिक सञ्जाल ट्वीटरमा निधिले लेखेका छन्, ‘आदरणीय मेरा अग्रज भ्रातातुल्य मित्र, समाजवादी, गान्धीवादी, विचारक, योद्धा, नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई मेडिसिटीमा दोस्रोपटक हेरेर बाटोमा फर्कंदै छु। स्तब्ध र निरीह छु । ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु– सबैले प्रार्थना गरौं।’