काठमाडौं मेट्रो सपना, डीपीआर बनाउन अन्तर्राष्ट्रिय आशयपत्र आह्वान

काठमाडौं मेट्रो सपना, डीपीआर बनाउन अन्तर्राष्ट्रिय आशयपत्र आह्वान



काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यसहित अगाडि सारिएको मेट्रो रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गर्न अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीसँग आशयपत्र ९इआआई० आह्वान गरिएको छ । रेल विभागका महानिर्देशक हरिकुमार पोखरेलले नारायणगोपाल चोक–सातदोबाटो–रत्नपार्कको २७।५ किलोमिटरमा रेल गुडाउन अन्तर्राष्ट्रिय आशयपत्र आह्वान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार इच्छुक अन्तर्राष्ट्रिय कम्पनीले आगामी जेठ ३२ गते ९१५ जुन २०२६० सम्म आफ्नो आशयपत्र पेस गरिसक्नुपर्ने छ । उहाँले नेपाल सरकारको ई–जिपी प्रणालीमार्फत अनलाइन आवेदन दिनुपर्ने व्यवस्था गरिएको जानकारीसमेत दिनुभयो ।

उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीले नेपाली कम्पनीसँग मिलेर (संयुक्त) आशयपत्र पेस गर्नुपर्ने हुन्छ । आशयपत्र पेस गरेका कम्पनीको पहिला प्राविधिक प्रस्तावको मूल्याङ्कन गरिने छ । प्राविधिक मूल्याङ्कनमा सफल भएका कम्पनीको मात्र आर्थिक मूल्याङ्कन गरिने छ । आर्थिक मूल्याङ्कनमा सफल भएकामध्ये परामर्शदाता छनोट गरिने छ ।” आशयपत्र पेस गरेकामध्ये योग्यता, अनुभव र क्षमताका आधारमा परामर्शदाता छनोट गरिने बताउँदै उहाँले योग्यताका आधारमा ५० अङ्क, अनुभवका आधारमा ४० अङ्क र क्षमताका आधारमा १० प्रतिशत अङ्क प्रदान गर्ने मापदण्ड तोकिएको जानकारी दिनुभयो । सङ्क्षिप्त सूचीमा सूचीकृत हुनका लागि कम्तीमा ७० अङ्क प्राप्त गर्नुपर्ने हुन्छ ।

‘डिपिआर’ गर्न दोस्रो प्रयास

यसअघि काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि डिपिआर तयार गर्न २०७६ माघ ८ गते रेल विभाग र चीनको चाइना रेलवे सियुआन कम्पनी लिमिटेड तथा नेपालकै सिइएमएटी कन्सल्ट्यान्ट ९संयुक्त० बिच सम्झौता भएको थियो । तर विभिन्न कारण त्यसबेला पूर्ण रूपमा डिपिआर तयार नभई ठेक्का सम्झौता तोडिएको महानिर्देशक पोखरेलले जानकारी दिनुभयो । अब छनोट हुने कम्पनीले डिपिआर तयार गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सतहत्तर किलोमिटरमा मेट्रो रेल सम्भव

काठमाडौँ उपत्यकाको यातायातको व्यवस्थापन तथा सुन्दर र स्वच्छ सहर निर्माण गर्ने उद्देश्यसहित विगत एक दशकदेखि काठमाडौँमा मेट्रो तथा मोनो रेल सञ्चालन गर्ने विषय चर्चा रहे पनि यस क्षेत्रमा देखिने गरी उपलब्धि भएको देखिँदैन । काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन गर्न सकिने सम्भाव्यताबारे सन् २०१२ मै कोरियन कम्पनी चुङसुङ

इन्जिनियरिङले सम्भाव्यता अध्ययन गरेको थियो । सो अध्ययन प्रतिवेदनले सम्भव देखाएको अधिकांश ‘एलाइनमेन्ट’ को आजसम्म पूर्वसम्भाव्यता अध्ययनसमेत हुन सकेको छैन । सो अध्ययनले काठमाडौँ उपत्यकाको कुल ७७ किलोमिटर सडकखण्डमा मेट्रो रेल सञ्चालन गर्न मिल्ने देखाएको थियो, जसमध्ये कुल ५२ किलोमिटरमा आकासे र २५ किलोमिटरमा भूमिगत मेट्रो रेलको सम्भावना देखाएको थियो ।

प्रतिवेदनले सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक १२ किमी, कीर्तिपुर–कालीमाटी–नयाँ बानेश्वर–एयरपोर्ट ११ किमी र कोटेश्वर–चाबहिल–स्वयम्भू २९ किमीमा आकासे तथा स्वयम्भू–डिल्लीबजार–बौद्ध १२ किमी र धोबीघाट–सिंहदरबार–नक्साल–गोङ्गबु १४ किमीमा भूमिगत बनाउन सिफारिस गरेको थियो । विभिन्न यातायातका साधनको तुलना गर्दा बसमा प्रतिघण्टा प्रतिलेन आठ हजार यात्रुले यात्रा गर्न सक्छन् । केवल मेट्रोमा प्रतिघण्टा प्रतिलेन दुईदेखि तीन हजार यात्रुले यात्रा गर्न सक्छन् । तर मेट्रो रेलमा प्रतिघण्टा प्रतिलेन २५ हजारदेखि ५० हजार यात्रु यात्रा गर्न सक्छन् ।