काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले नेपाल–भारत सीमा विवाद कूटनीतिक च्यानलमार्फत समाधान गरिने बताएका छन् ।
पाँच दिने भारत भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले सीमा समस्या हल्ला गरेर वा ढोल बजाएर समाधान नहुने भन्दै यसलाई उपयुक्त समय र प्रक्रियाअनुसार अघि बढाइने बताए । उनले उपयुक्त समयमा कूटनीतिक संवादमार्फत हल गर्ने कुरामा भारतसमेत तयार रहेको दावी गरे ।
सभापति लामिछानेले भने, “कुनै पनि कुरा दुई देशको कूटनीतिक च्यानलमार्फत गराउने कुरा एकदमै महत्त्वपूर्ण हुन्छ। त्यो विषयमा हल्ला गरेजस्तो ढोल बजाएर हुँदैन। तर, ढोल नबजाईकन आफ्नो देशको बारेमा गर्नुपर्ने कुराहरू गर्नुपर्ने ठाउँमा र समयमा शृङ्खलाबद्ध तरिकाले गर्नुपर्ने हुन्छ। कुनै पनि कामका चरणहरू हुन्छन्, त्यस्ता चरणमा सीमाको विषयमा कुरा गर्नुपर्ने हुन्छ। त्यसकारण सडक र सदनको बहसभन्दा माथि उठेर कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ।”
रविले प्रधानमन्त्री वालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिलाई परराष्ट्र मन्त्रालयले स्पष्ट पारिसकेको उल्लेख गर्दै त्यही नै सरकारको आधिकारिक धारणा रहेको प्रष्ट पारे ।
भ्रमणका क्रममा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको समेत सभापति लामिछानेले जानकारी दिए । उहाँले दुवै नेता नेपाल भ्रमणका लागि सकारात्मक रहेको उल्लेख गर्दै राजनीतिक दलहरूबीच एक–अर्काको देशमा भ्रमण र निमन्त्रणा आदानप्रदान गर्ने कार्य निरन्तर चलिरहने प्रक्रिया भएको स्पष्ट पारे ।
उनले भने, “मैले यही भ्रमणका क्रममा भारतीय जनता पार्टीका अध्यक्षज्यूलाई र प्रधानमन्त्री नरेन्द्र मोदीज्यूलाई पनि नेपाल आउनका लागि निमन्त्रणा गरेको छु। आवश्यकताअनुसार विभिन्न राष्ट्रका राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गर्ने क्रम निरन्तर चलिरहन्छ। दुवै जना अत्यन्त सकारात्मक हुनुहुन्छ। अब दुवैतर्फको समय मिल्यो भने भ्रमण हुन्छ।”
उनले भर्खरै मात्र सरकार गठन भएकाले तत्कालै सबै समस्यालाई पूर्ण रूपमा सम्बोधन गर्ने क्षमता अभिवृद्धि भइनसके पनि नागरिकका गुनासाहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न संयन्त्रलाई सक्रिय बनाउने प्रयास भइरहेको बताए । प्रवासमा रहेका नेपालीका समस्याहरू लगभग उस्तै प्रकृतिका हुने भए पनि ती समस्या समाधान गर्ने संयन्त्र सक्रिय र चुस्त भएमा पीडालाई उल्लेख्य रूपमा न्यूनीकरण गर्न सकिने धारणा रविको छ ।

प्रतिक्रिया