काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी अस्पतालमा बिग्रिएर लामो समयदेखि प्रयोगविहीन रहेका स्वास्थ्य उपकरणको मर्मत तथा पुनः सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्ने तयारी गरेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबिच यस विषयमा बुधबार छलफल भएको छ । छलफलमा सरकारी अस्पतालमा थन्किएर रहेका, बिग्रिएका स्वास्थ्य उपकरणको पहिचान गर्ने, प्राविधिक अवस्था मूल्याङ्कन गर्ने तथा आवश्यक मर्मतसम्भार गरी पुनः सञ्चालनमा ल्याउने विषयमा छलफल भएको थियोे ।
मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार राष्ट्रिय आविष्कार केन्द्रमार्फत देशभरका सरकारी अस्पतालमा रहेका यस्ता उपकरणको विवरण सङ्कलन गरी चरणबद्ध रूपमा मर्मत गर्ने योजना अगाडि बढाइने छ । उहाँले यसबाट अस्पतालमा देखिएको उपकरण अभाव न्यूनीकरण हुने बताउनुभयो । उहाँले बिग्रिएका उपकरणको मर्मत तथा पुनः सञ्चालनबाट नयाँ उपकरण खरिदमा लाग्ने खर्चसमेत बचत हुने र उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्न सकिने बताउनुभयो ।
यसअघि पनि स्वास्थ्य मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबिच सङ्घीय सरकार अन्तर्गतका १७ वटा अस्पतालमा बिग्रिएका स्वास्थ्य उपकरणको पहिचान, मर्मतसम्भार तथा व्यवस्थापनका लागि सहकार्य गर्ने सम्झौता भएको थियो । उक्त सम्झौतापछि विभिन्न अस्पतालमा रहेका सयौँ उपकरणको मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको जानकारी सार्वजनिक भएको थियो ।

प्रतिक्रिया