संसदको रेकर्डबाट प्रधानमन्त्रीको अभिव्यक्ति मेटाउन विपक्षीले दबाब दिँदै

संसदको रेकर्डबाट प्रधानमन्त्रीको अभिव्यक्ति मेटाउन विपक्षीले दबाब दिँदै



काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर आज प्रतिपक्षी दलहरुले संसद बैठकमा कडा प्रतिवाद गर्ने भएका छन् । यस विषयमा प्रतिपक्षी दलहरुबीच सामान्य समझदारी भएको थियो । हिजोको बैठकमा प्रधानमन्त्री अचानक उपस्थित भएर संसदहरुलाई प्रश्न सोध्न भनेका थिए । जवाफका क्रममा उनले ‘नेपालले पनि भारतको भूमि मिचेको’ अभिव्यक्ति दिएपछि त्यसको व्यापक विरोध भइरहेको छ । हिजोको बैठकमा केही प्रतिपक्षी सांसदहरुले प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे पनि सभामुख डीपी अर्यालले कुनै सुनवाइ गरेनन् ।
सभामुख अर्यालले संसद नियमावली जबरजस्ती पारित गर्न लागेपछि हिजो दिनभरको बैठक तनावपूर्ण भएको थियो । आज भने प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रतिपक्षी दलहरु केन्द्रित हुने भएका छन् । बैठकको सुरुबाटै वेल घेराउ गर्ने तयारीमा विपक्षी छन् ।