काठमाडौं ।
प्रधानमन्त्री बालेन्द्र साहले संसदको रोष्ट्रममा उभिएर नेपाल र भारतबीचको सीमा विवादका विषयमा विवादास्पद अभिव्यक्ति दिएपछि त्यसलाई लिएर विपक्षी दलले जवाफ मागेको छ । साथै, बोलिएको कुरा तत्कालै संसदको रेकर्डबाट हटाउन वा कहाँ नेपालले सीमा मिचेको हो त्यो प्रमाण पेश गर्न पनि उनीहरुले माग गरेका छन् ।
कांग्रेस प्रमुख सचेतक वासना थापाले नेपालले भारतीय भूमि कहाँ मिचेको हो रु भन्दै प्रश्न गरिन् ।
कि त यो विषयमा थप प्रस्ट पार्न, अन्यथा संसदको रेकर्डबाटै हटाउन उनले माग गरिन् । यसअघि प्रधानमन्त्री शाहले संसदको रोस्ट्रमबाटै नेपालले भारतीय भूमि मिचेको जानकारी गराएका थिए । यस्तै, नेपाली कम्युनिस्ट पार्टीका रमेश मल्लले पनि प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाए । यो विषय निकै गम्भीर रहेको भन्दै उनले संसदको रेकर्डबाट हटाउन माग गरे ।
नेकपा (एमाले)ले प्रधानमन्त्रीले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले आज सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीको भनाइलाई गैरजिम्मेवार, तथ्यहीन र राष्ट्रिय हितविपरीत रहेको बताएका छन् । आचार्यले प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले संसद्को रोस्ट्रमबाट “नेपालले पनि अरूको सीमा मिचेको छ” भन्ने अभिव्यक्ति दिनु अत्यन्तै खेदजनक रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया