आफ्नै समयमा सुधार गर्दै मनकुमारले जिते एभरेष्ट म्याराथन

आफ्नै समयमा सुधार गर्दै मनकुमारले जिते एभरेष्ट म्याराथन



नेपाली अल्ट्रा ट्रेल धावक मनकुमार रोका मगरले आफ्नै समयमा सुधार गर्दै तेन्जिङ हिलारी एभरेस्ट म्याराथन २०२६ मा अल्ट्रा म्याराथनतर्फको उपाधि जितेका छन् ।

७२ किमीको अल्ट्रा म्याराथनमा उनले ७ घण्टा ३७ मिनेट ०८ सेकेण्डमा पूरा गर्दै नयाँ कीर्तिमान बनाए । यसअघि गतवर्ष उनले ८ घण्टा ७ मिनेटमा दौड पूरा गर्दै कीर्तिमान बनाएका थिए ।

सन् १९५३ मे २९ मा सर एडमण्ड हिलारी र तेन्जिङ नोर्ग शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको अवसरमा तेन्जिङ हिलारी म्याराथन आयोजना हुँदै आएको छ ।

मनकुमारले पछिल्लो समय राष्ट्रिय, अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रनहरुमा राम्रो प्रदर्शन गर्दै आएका छन् । उनले केही समयअघि युटिएमबी वर्ल्ड सिरिज अन्तर्रागत थाइल्यान्डमा भएको अमाजिन जंगल थाइल्यान्ड बाई युटिएमबीमा ९१ किमीतर्फ दोस्रो स्थान हासिल गरेका थिए ।

यस्तै मिलन कुलुङले ८ घण्टा १ मिनेट ११ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो भए भने जंगविर कुलुङ ८ घण्टा २२ मिनेट २५ सेकेण्डसमय सहित तेस्रो भए ।

यसैगरी ४२ किमी म्याराथनतर्फ रेमश लिम्बु पहिलो भए भने अर्जुल कुलुङ राई दोस्रो र सुमन कुलुङ तेस्रो भए ।

४२ किमी म्यारथनको महिलातर्फ लाक्पा निमा शेर्पा ४ घण्टा ३४ मिनेट ४३ सेकेण्डमा दौड पूरा गर्दै विजेता बनिन् । दिलकला कुलुङ दोस्रो र आङ दामी शेर्पा तेस्रो भए । दिल कलाले ५ घण्टा ३२ मिनेट ०३ सेकेण्डमा दौड पूरा गर्दा आङ दामीले ६ घण्टा २१ मिनेट ४४ सेकेण्ड समय लगाइन् ।