मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा पछिल्लो पटक चर्चित बनेको ४०७ ट्रेनिङ भिसाको दुरुपयोग बढेपछि सरकारले कडाई गरेको छ । यस्तो भिसाका लागि आवेदन दिनेमध्ये ५५ प्रतिशतभन्दा बढीको भिसा अस्वीकृत बनेको वा फिर्ता पठाइएको सरकारी तथ्यांक छ । अष्ट्रेलियाको गृह मन्त्रालय अन्तर्गतको अष्ट्रेलियन बोर्डर फोर्सले ट्रेनिङ भिसा कार्यक्रमको दुरुपयोग रोक्न देशव्यापी विशेष निगरानी अभियान सुरु गरेको हो ।
चार महिनासम्म सञ्चालन हुने यस अभियानअन्तर्गत नक्कली तालिम कार्यक्रम, भिसा दुरुपयोग तथा आप्रवासी कामदारमाथि शोषण गर्ने रोजगारदातालाई लक्षित छ । हालसम्म सय भन्दा बढी ठाउँहरुमा छापा मारेर अनुगमन गरिसकिएको छ । यस्तो अनुगमन भएका ठाउँहरुमा डार्विन, बालाराट, टाउन्सभिल, गोल्डकोष्ट, ग्रिफिथ, वागावागा लगायत छन् ।
प्रारम्भिक अनुसन्धानमा धेरै रोजगारदातासँग वास्तविक तालिम योजना नभएको तथा प्रशिक्षार्थीलाई उनीहरूको स्वीकृत तालिमसँग सम्बन्धित नभएका काममा लगाइएको फेला परेको छ।
बोर्डर फोर्सले अब देशभर २०० भन्दा बढी कार्यस्थलमा थप अनुगमन गर्ने तयारी गरेको छ। अधिकारीहरूले रोजगारदाता र प्रशिक्षार्थीसँग प्रत्यक्ष अन्तर्वार्ता लिएर तालिम कार्यक्रम वास्तविक हो वा होइन भन्ने जाँच गर्नेछन्। यो अभियान फेयर वर्क अम्बुड्समेन्ट सहितका अन्य सरकारी निकायहरूसँग सहकार्यमा सञ्चालन भइरहेको छ।
गृह मन्त्रालयका अनुसार २०२५–२६ आर्थिक वर्षको अप्रिल ३० सम्म आइपुग्दा ४०७ भिसाका ५५ प्रतिशत आवेदन अस्वीकृत वा फिर्ता भएका छन्। विभागले यसलाई आवेदनको गुणस्तर र कडाइका साथ भइरहेको परीक्षणको संकेत मानेको छ।
विभागले ४०७ भिसा “सीप विकास र व्यावसायिक तालिम” का लागि भएको स्पष्ट पार्दै यसलाई नियमित रोजगारीका रूपमा प्रयोग गर्न नहुने जनाएको छ।
एबीएफका का कमाण्डर जोन टेलरले भने, “प्रशिक्षण भिसामा आएका आप्रवासी कामदारको शोषणप्रति हाम्रो शून्य सहनशीलता छ। यी भिसा वास्तविक सीप विकासका लागि हुन्, सस्तो श्रमका लागि होइन।”
उनले नियम उल्लंघन गर्ने रोजगारदातामाथि कडा कानुनी कारबाही गरिने चेतावनी पनि दिएका छन्। फेयरवर्क अम्बुड्समेन्टले कुनैपनि अनियमित कार्य भएको थाहा भएमा तत्काल उजुरी गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया