सिड्नी — अष्ट्रेलियाको न्यु साउथ वेल्स ९एनएसडब्ल्यू० प्रहरीले सन् १९९० को दशकमा न्युकासल क्षेत्रमा भएका दुई महिलाको हत्या घटनाको सुल्झाउन सहयोग गर्ने व्यक्तिलाई १० लाख अष्ट्रेलियन डलरको पुरस्कार दिने घोषणा गरेको छ। लामो समयदेखि अज्ञात रहेका यी घटनाहरूमा संलग्न व्यक्ति वा व्यक्तिहरूको पहिचान गर्न र न्याय प्रदान गर्ने उद्देश्यले यो पुरस्कार घोषणा गरिएको हो।
प्रहरीका अनुसार, २८ वर्षीया सुसान केको सन् १९९४ मा मे महिनामा लेक म्याक्वारी नजिकैको क्षेत्रमा उनको मृत अवस्थामा फेला पारिएको थियो। त्यसैगरी, ३८ वर्षीया जोआन टेटरिनको सन् १९۹६ को अक्टोबरमा न्युकासलको बाहिरी भागमा रहेको क्षेत्रमा मृत्यु भएको पाइएको थियो। दुवै घटनामा अनुसन्धानले उनीहरूको हत्या गरिएको पुष्टि गरेको थियो, तर अहिलेसम्म कसैको विरुद्धमा कुनै आरोप वा कारबाही हुन सकेको छैन।
एनएसडब्ल्यू प्रहरीको हत्या अनुसन्धान टोलीका प्रमुखले पत्रकार सम्मेलनमा भने, “यी दुवै महिलाको परिवारले लामो समयदेखि न्यायको प्रतीक्षा गरिरहेका छन्। यो घटनाहरूसँग सम्बन्धित जानकारी अहिले पनि कसैको स्मृतिमा वा जानकारीमा रहेको हुन सक्छ, र हामी त्यो जानकारी बाहिर ल्याउन चाहन्छौं। १० लाख डलरको पुरस्कारले कसैलाई पनि सत्य बाहिर ल्याउन प्रोत्साहन गर्नेछ भन्ने हाम्रो विश्वास छ।”
उनले थप भने कि, “घटना भएको धेरै वर्ष बितिसकेको भए पनि, त्यसबेलाको परिस्थिति, साथीहरूसँगको सम्बन्ध र जिम्मेवारीहरू परिवर्तन भएका छन्। जो व्यक्ति पहिले केही भन्न चाहँदैनथे, उनीहरूले अहिले अगाडि आएर सहयोग गर्न सक्नेछन्। तपाईंको एउटा सानो जानकारीले पनि यी दुई परिवारलाई वर्षौंदेखिको पीडाबाट मुक्ति दिलाउन सक्छ।”
प्रहरीले स्पष्ट पारेको छ कि, पुरस्कार प्राप्त गर्नका लागि दिइएको जानकारीले सिधै अपराधीहरूको पहिचान, पक्राउ र मुद्दा चलाउनमा महत्वपूर्ण योगदान गर्नुपर्नेछ। साथै, जानकारी दिने व्यक्तिको पहिचान गोप्य राखिने र कानुनी सुरक्षा प्रदान गरिने पनि जनाइएको छ।
सुसान र जोआनका परिवारहरूले पनि यो घोषणालाई स्वागत गर्दै अगाडि आएर सहयोग गर्न सबैलाई आग्रह गरेका छन्। एक परिवारको सदस्यले भने, “हामीले वर्षौंदेखि के भएको थियो भन्ने कुराको सत्य जान्न चाहन्थ्यौं। हाम्रो आफन्तले जस्तो दुःखद मृत्यु पाएको हो, त्यसको लागि जिम्मेवार व्यक्तिले कानुनी कारबाही भोग्नुपर्छ भन्ने हाम्रो चाहना हो।”
यस सम्बन्धमा कुनै पनि जानकारी भएका व्यक्तिहरूले एनएसडब्ल्यू प्रहरीको क्राइम स्टपर्स हटलाइन १८०० ३३३ ००० मा सम्पर्क गर्न वा आधिकारिक वेबसाइटमा गएर जानकारी दिन सक्नेछन्। दिइएको जानकारी पूर्ण रूपमा गोप्य राखिने र आवश्यकताअनुसार पुरस्कारको लागि योग्य हुने जनाइएको छ।

प्रतिक्रिया