ह्वाइट हाउसमा सुरक्षा सतर्कता, गोली हान्ने व्यक्ति मारिए

ह्वाइट हाउसमा सुरक्षा सतर्कता, गोली हान्ने व्यक्ति मारिए


वासिङ्टन डीसी । अमेरिकाको ह्वाइट हाउस नजिक शनिबार साँझ भएको गोलीकाण्डपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ। अमेरिकी गोप्य सुरक्षा निकायले एक बन्दुकधारी व्यक्तिसँग गोली हानाहान भएको पुष्टि गरेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बन्दुकधारीले ह्वाइट हाउस नजिक रहेको सुरक्षा जाँच चौकीतर्फ गोली चलाएपछि सुरक्षाकर्मीहरूले जवाफी फायर गरेका थिए। घटनामा संदिग्ध व्यक्तिको मृत्यु भएको छ भने एक सर्वसाधारण घाइते भएको जनाइएको छ।

घटना ह्वाइट हाउसको १७औँ स्ट्रिट र पेन्सिल्भेनिया एभिन्यु क्षेत्र नजिक भएको बताइएको छ। गोली चलेपछि केही समयका लागि ह्वाइट हाउस क्षेत्रमा लकडाउन गरिएको थियो। घटनाका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमै रहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

एफबीआईले घटनाको अनुसन्धान गरिरहेको छ। प्रारम्भिक जानकारी अनुसार संदिग्ध व्यक्ति मानसिक रूपमा अस्थिर रहेको र यसअघि पनि ह्वाइट हाउस क्षेत्रबाट टाढा रहन चेतावनी दिइएको बताइएको छ।

यस घटनापछि अमेरिकामा राष्ट्रपतिको सुरक्षा व्यवस्थामाथि फेरि प्रश्न उठ्न थालेको छ। केही साताअघि मात्रै ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनर नजिक पनि गोली चलेको घटना भएको थियो, जसमा राष्ट्रपति ट्रम्पलाई सुरक्षाकर्मीहरूले तत्काल सुरक्षित स्थानमा लगेका थिए।

अमेरिकी अधिकारीहरूले पछिल्ला घटनाले राजनीतिक हिंसाको जोखिम बढ्दै गएको भन्दै सुरक्षा सतर्कता थप कडा पारिएको बताएका छन्।