काठमाडौं । इरानमा पक्राउ परेका नेपाली युवा अमृत झा थुनामै रहेको परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ । आज एक विज्ञप्ति निकाल्दै मन्त्रालयले यसअघि झा रिहा भएको भन्दै दिइएको जानकारीबाट अन्योल र असुविधा भएको भन्दै माफी मागेको छ ।
परराष्ट्रको विज्ञप्तिमा इरानको Qeshm Island मा अवैध सामान तस्करी एवम् ओसारपसारको आरोपमा झासहितलाई इराजी सुरक्षाकर्मीले नियन्त्रणमा लिएको र पुर्पक्षका लागि थुनामा रहेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ- त्यहाँको विषम परिस्थितिबीच आफ्नो नागरिकका सम्बन्धमा तत्कालीन जनचासो र सञ्चार माध्यमबाट सोधिएको अवस्था एवम् निजको परिवारसमेतको जानकारीमा आइसकेको विषयलाई दृष्टिगत गर्दै सोही दिन मन्त्रालयबाट झा रिहा हुनुभएको अनौपचारिक जानकारी प्राप्त भएकोबारे विज्ञप्ति जारी गरिएको । उक्त जानकारीकै आधारमा माननीय परराष्ट्र मन्त्रीज्यूले आफ्नो सामाजिक सञ्जालबाट पनि यो विषय सार्वजनिक गर्नुभएको । साथै, निजलाई नेपाल फिर्ता ल्याउने प्रक्रिया पूरा गर्ने प्रयोजनका लागि नेपाली राजदूतावास, दोहालाई निज रिहा भएको लिखित प्रमाण उपलब्ध गराउन निर्देशन दिइएको । तर केही दिन पछि प्राप्त जानकारी अनुसार अमृत झा रिहा भइनसकेको र निज सम्बद्ध मुद्दामा अदालतले एक्सपर्ट रिपोर्ट तयार गर्न भनेको। तत्पश्चात् परराष्ट्र मन्त्रीज्यूलगायतका अधिकारीहरूसँग मन्त्रालयमा भएको भेटमा निज झाका परिवारलाई यी सबै तथ्यहरू जानकारी गराइसकिएको छ।
एक्सपर्ट रिपोर्टका लागि गठित विज्ञ टोलीले प्रतिवेदन तयार गरी अदालतमा बुझाउने क्रममा रहेको जानकारी गराउँदै मन्त्रालयले इरानको स्थानीय अदालतमा विचाराधीन रहेको मुद्दाको निरूपण इरानको कानुनअनुसार हुने भएकोले निष्पक्ष सुनुवाइ लगायत रिहाइका लागि निरन्तर कूटनीतिक पहलहरू जारी राखिएको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया