मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियाको मेलबर्नमा रही विभिन्न कृषि फर्महरुमा कामदार सप्लाई गर्ने काम गर्दै आएका एक व्यवसायीलाई यहाँको सर्वोच्च अदालतले ८ लाख ३० हजार डलर जरिवाना गरेको हो । उक्त जरिवाना रकम असुल गर्नका लागि उनको घर रोक्का गरिएको छ । सर्वोच्च अदालतमा पेश गरिएको विवरणमा लेबर हायर अथोरोटी (एलएचए) ले गरेको अनुसन्धानबाट माउन्टेन हार्भेस्टिङ कम्पनी र यसका निर्देशक होम दवाडीले करिब तीन वर्षको समयमा २६ लाख डलर विना लाईसेन्स कामदार सप्लाई गरेर प्राप्त गरेको भेटिएको थियो ।
यसरी प्राप्त भएको आम्दानीमा १३ हजार डलर मात्रै करको रुपमा तिरिएको थियो । पछिल्लो समय नेपाली समूदायमा क्यासमा फार्ममा काम गर्ने क्रम बढेर गएको छ । मुख्यत विद्यार्थीहरु र नेपालबाट आएका आमाबुबाहरुलाई यस्तो काममा लगाउने गरिएको आरोप छ । उनीहरुसँग काम गर्ने कानूनी आधार नहुने र तलब नगदमै दिने गरिएका कारण यस्तो कामको रेकर्ड हुने गर्दैन । तर, अनुसन्धानको क्रममा दवाडीले आफुले व्यवस्थापन गरेका कामदारहरुलाई १७ देखि २० डलर प्रतिघण्टा दिएका थिए ।
अष्ट्रेलियाको श्रम कानूनको बारेमा सीमित जानकारी भएका यी व्यक्तिहरुलाई आकर्षित गर्न फेसबुकमा कामदार चाहियो भन्ने विवरणको ४० वटा फेसबुक पोष्टहरुलाई मुख्य प्रमाणका रुपमा अनुसन्धानमा लिइएको थियो । कम्पनीको अनुसन्धान गरिएको अवधिमा १ सय १० जनाभन्दा बढी कामदार विभिन्न फार्महरुलाई सप्लाई गरेको बताइएको छ ।
यो निर्णयसँगै होम दवाडीको कम्पनीले सन् २०२० मा लेबर हायर कम्पनीका लागि दिएको आवेदन रद्द गरिएको छ भने तोकिएको जरिवाना असुल्नका लागि उनी र कम्पनीको सेक्रेटरी रहेकी उनकी श्रीमतीको संयुक्त नाममा मेलबर्नमा रहेको घर रोक्का गरिएको छ । जरिवाना तिर्न नसकेको अवस्थामा सरकारले घर लीलामीबाट पनि उक्त जरिवाना असुल गर्नेछ ।
फैसला सुनाउने क्रममा न्यायाधीशले यो घटना अन्जानमा भएको गल्ती नभई नियोजित र जानाजानी गरिएको ठगी भएको बताएका थिए । दवाडीले लाईसेन्सको आवेदनमा नै आफुले काम सुरु गरिनसकेको दावी गरेका थिए । ठूलो रकमको कारोबार गरेर पनि राज्यलाई कर तिरेका थिएनन् । लेबर हायर अथोरिटीले उनलाई आवेदन लगत्तै सम्पर्क गरेर अहिले काम सुरु नगर्न भनी आधिकारिक पत्र पठाएको भएपनि उनले अझ बढी फेसबुकमा विज्ञापन गरेर कामदार बटुल्ने काम जारी राखेका थिए । यसका लागि विभिन्न फरक फरक फोन नम्बरहरु प्रयोग गरिएको थियो ।
अदालतमा आफ्नो बचाउमा माउन्टेन हार्भेस्टिङले अन्जानमा गल्ती भएको दावी गरेको थियो । उसले लेबर हायर लाईसेन्स एक्ट २०१८ को बारेमा पूर्ण जानकारी नभएको र झुक्किएको बताएको थियो । यस्तै लाईसेन्स प्राप्त हुने प्रक्रियामा रहेको भन्दै आफ्नो बचाउ गर्ने प्रयत्न पनि कम्पनीले गरेको थियो । तर, अदालतले आवेदन दिँदा नै ‘हामीले काम सुरु गरेका छैनौं’ भन्ने स्वघोषणा गरेको पाएको थियो । कोभिड १९ का कारण कामदार अभावको बेला केही तलमाथि भएको हुनसक्ने तर्क पनि अदालतमा कम्पनीले पेश गरेको थियो । त्यस्तै कामदारहरु आफ्नै ईच्छाले आएको र उनीहरुलाई काम दिएर सहयोग गरेको भन्दै आफ्नो बचाउ गरिएको थियो । तर, अष्ट्रेलियामा सहमतिमै पनि न्यून ज्याला दिनु गैरकानूनी मानिन्छ ।
यो निर्णयपछि प्रतिक्रिया दिँदै लेबर हायर अथोरेटीका आयुक्त स्टीभ ड्रागाभेलले भनेका छन् “लेबर हायर कम्पनीहरूले अनिवार्य रूपमा लाइसेन्स प्राप्त गर्नुपर्छ र जोखिममा रहेका कामदारहरूको सुरक्षा गर्न र उद्योगको पारदर्शिता तथा विश्वसनीयता कायम राख्नुपर्छ गैरकानूनी रुपमा श्रमिकहरूको मेहनतबाट अवैध रूपमा नाफा कमाउने, ठग्ने प्रयास गरेमा तिनले ठूलो मूल्य चुकाउनुपर्छ । यति मात्र होइन कृषक तथा अन्य कम्पनीहरुले कामदारलाई काममा लगाउँदा तिनलाई हायर गर्ने कम्पनीहरुको बारेमा प्रष्ट हुनुपर्दछ । बिना लाइसेन्स सञ्चालित लेबर हायर कम्पनीलाई कम्पनीलाई काममा लगाएमा, उनीहरूले पनि त्यस्तै जरिवाना र सजायको सामना गर्नुपर्नेछ ”

प्रतिक्रिया