सेनाले ल्यायो रेन्जर डेन्जर र्‍याप गीत, भर्ना हुन आह्वान

सेनाले ल्यायो रेन्जर डेन्जर र्‍याप गीत, भर्ना हुन आह्वान


काठमाडौँ । नेपाली सेनाले आधुनिक शैलीमा तयार पारिएको ‘रेन्जर’ बोलको र्‍याप गीत सार्वजनिक गरेको छ। सेनाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

तीन दिनअघि सार्वजनिक गरिएको गीतलाई शनिबार मध्याह्नसम्म करिब दुई लाख पटक हेरिएको छ। गीतमार्फत सेनाभित्र विशेष तालिमप्राप्त लडाकु अर्थात् ‘रेन्जर’ को साहस, अनुशासन, सङ्घर्ष र जिम्मेवारीलाई र्‍याप शैलीमा प्रस्तुत गरिएको छ।

गीतका शब्द प्रताप मगरले लेखेका हुन् भने भिडियोको मुख्य निर्देशन बासुदेव धिमालले गरेका छन् । यस्तै सिद्धार्थ मोक्तान सहायक निर्देशकको भूमिकामा छन् । उक्त साङ्गीतिक भिडियोमा सैनिक तालिम, अभ्यास तथा विभिन्न गतिका दृश्य समेटिएका छन्, जसले गीतलाई अझ प्रभावशाली बनाएको छ।

परम्परागत सैन्य प्रस्तुतिभन्दा फरक शैलीमा ल्याइएको ‘रेन्जर’ गीतलाई सेनाको आधुनिक सञ्चार रणनीतिको हिस्सा मानिएको छ।