हिमाली र अष्ट्रेलियन समकालीन कला प्रबद्र्धन गर्न अष्ट्रेलियाबाट ग्यालेरियाको सुरुवात

हिमाली र अष्ट्रेलियन समकालीन कला प्रबद्र्धन गर्न अष्ट्रेलियाबाट ग्यालेरियाको सुरुवात



मेलबर्न, अष्ट्रेलिया ।

हिमाली र अष्ट्रेलियन समकालीन कला प्रबद्र्धन गर्ने विश्वव्यापी प्लेटफर्म सुरु भएको छ । यो अनलाइन कला प्लेटफर्ममा हिमाली क्षेत्र र अष्ट्रेलियाका समकालीन कलाकृतिहरूलाई विश्वभरका पारखीसामू प्रस्तुत गरिनेछ । ग्यालेरियामा नेपाली, अष्ट्रेलियन र दक्षिण एसियाली कलाकारहरूमा विशेष ध्यान केन्द्रित गर्दै, मौलिक चित्रकला, सीमित संस्करणका प्रिन्ट, मर्चेन्डाइज तथा कला आधारित गिफ्ट कार्डहरू बिक्री गर्नेछ ।

ग्यालेरियाको स्थापना एक दशकभन्दा बढी समयदेखि सिर्जनात्मक काम गर्दै आएका कलाकार अरुण चित्रकारले गरेका हुन् । नेपालमा कलाकार परिवारबाट आएका चित्रकारको लागि सिर्जना सधैं केन्द्रमा रह्यो । उनका हजुरबुबा, स्वर्गीय कान्छा चित्रकार भक्तपुरको थिमीका प्रसिद्ध कलाकार थिए ।

वर्षौँसम्म, अरुणले अन्य कलाकारहरूको अनुभव सुन्दै र नियाल्दै एउटा साझा समस्या देखे—विशेषगरी परम्परागत नेपाली कलामा काम गर्ने धेरै कलाकारहरूले अन्तर्राष्ट्रिय स्तरमा अवसर पाउन संघर्ष गरिरहेका छन्। उपयुक्त प्लेटफर्मको अभावमा धेरै प्रतिभाशाली कलाकारहरूले आफ्नो कला सीमित दायरामा मात्रै लैजान सकेका छन् । यही ठम्याईसँगै जन्मिएको हो अनलाइन कला ग्यालरी ।
उनले भने “म कलाकारहरू गर्वका साथ जोडिन सक्ने र खरिदकर्ताहरूले ढुक्क भएर किन्नसक्ने प्लेटफर्म बनाउन चाहन्थें।”
ग्यालेरियाले चित्रकला र मूर्तिकलासहित विभिन्न कीर्तिहरुमा खुला पहुँच प्रदान गर्नेछ । साधारण तर निकै सोचेर बनाइएको डिजाइनका कारण स्वयं कलाकारहरूले आफुलाई दर्ता गर्न, आफ्ना कृतिहरू अपलोड गर्न र कलाका पारखीहरुसँग जोडिन सक्छन् । ग्यालेरियालाई निरन्तरको प्रतिक्रियाबाट सुधार्दैजाने लक्ष्य पनि राखिएको छ ।

खरिदकर्ता र सङ्कलकहरूको लागि ग्यालेरियाले निःशुल्क ढुवानी र चित्त नबुझेमा २८ दिनभित्र पैसा फिर्ताको ग्यारेन्टी पनि दिएको छ । अहिले यो व्यवस्था अष्ट्रेलिया र न्यूजिल्याण्डमा मात्रै लागू गरिएको चित्रकारले जानकारी दिए । सुरुवातमा यहाँ किरण मानन्धर, जीवन राजोपाध्याय, असन डंगोल, ईरिना ताम्राकारका कलाकृतिका साथै अष्ट्रेलियन कलाकारहरु गिसेली बोलो, करेन वाईजम्यान जस्ता स्थापित हस्तीका सिर्जनाहरु प्राप्त गर्न सकिने छ ।

ग्यालेरियाले नेपाल, भारत, श्रीलंका, बङ्गलादेश र अष्ट्रेलियाका विशेषगरी हिमाली सम्पदाबाट प्रभावित कलात्मक अभिव्यक्तिहरूलाई प्रबद्र्धन गर्नेछ ।

“ग्यालेरिया केवल खरिद बिक्रीको प्लेटफर्म मात्र नभएर कलाकारहरूकै प्रबद्र्धनमा पनि समर्पित हुने प्रयास हो,” अरुणले थपे। यसैकारण ग्यालेरियाले अष्ट्रेलिया, बेलायत लगायतका देशहरूमा प्रदर्शनी तथा प्रबद्र्धनको पहल गर्नेछ ।