मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा रहेको नेपाली वाणिज्यदूतको कार्यालयले सांसद क्याथलिन वार्डसँगको सहकार्यमा आयोजना गरेको नयाँ वर्ष २०८३ शुभकामना आदान प्रदान कार्यक्रममा भिक्टोरियाकी प्रिमियर जसिन्टा एलानले नेपाली समूदायले दिएको योगदानको प्रशंसा गरेकी छिन् । कार्यक्रममा आफ्नो क्याविनेटको ४ मन्त्रीसहित उपस्थित भएकी उनले भिक्टोरियाको बहुसांस्कृतिक समाजमा नेपाली समूदाय अभिन्न अंगको रुपमा स्थापित भएको बताइन् । उनले भनिन् “भिक्टोरियाको संसदमा नेपाली नयाँ वर्षको यो खुशीयाली ल्याएकोमा धेरै धेरै धन्यवाद ।”
नेपाली भिक्टोरियनहरुलाई सम्बोधन गर्दै उनले थपिन् “उनीहरु भिक्टोरियाको बहुसांस्कृतिक समूदायको एउटा हिस्सा मात्र होइन, महत्वपूर्ण हिस्सा भएको पनि स्मरण गराउन चाहन्छु ।”


कार्यक्रममा बोल्दै भिक्टोरियाका लािग नेपाली वाणिज्यदूत निराजन गौलीले कार्यक्रमलाई निरन्तरता दिइनु आवश्यक भएको बताएका थिए । उक्त अवसरमा भिक्टोरियामा रहेका विभिन्न सामूदायिक संघसंस्थाका पदाधिकारी सहित समूदायका अगुवाहरु उपस्थित थिए ।
यस्तै पाकिस्तान, फिलिपिन्स, भारत, चीन र अमेरिकाका महावाणिज्यदुतहरु पनि उक्त कार्यक्रममा सहभागी भएका थिए ।
भिक्टोरियाको संसदमा नेपाली नयाँ वर्ष मनाउने क्रममा विजेन्द्र व्यन्जनकार, सोमु महर्जन, समय शाक्य, राजेन्द्र गुरुङ, पुष्कल गायक, कुमार महर्जन र सुनील खड्का लगायतले सांस्कृतिक प्रस्तुति दिएका थिए ।
प्रिमियर जसिन्टा एलान नेपाली संगीतमा केहीबेर नाचेकी पनि थिइन् । राज्यको प्रिमियरकै उपस्थितिमा भिक्टोरियामा पहिलो पटक नेपाली नयाँ वर्ष मनाइएको हो । आगामी दिनमा पनि यसलाई निरन्तरता दिन सकेमा पक्कै पनि यसले नेपालीको उपस्थिति र त्यसलाई भिक्टोरिया राज्यले गर्ने सम्मानका रुपमा स्थापित हुने देखिन्छ ।




प्रतिक्रिया