सिड्नी, अष्ट्रेलिया । सिड्नीको क्याम्प्सी क्षेत्रमा सञ्चालनमा रहेको “खुकुरी नेपाली रेस्टुरेन्ट” लाई खाद्य सुरक्षासम्बन्धी गम्भीर उल्लंघन गरेको आरोपमा ३७ हजार ५ सय अष्ट्रेलियन डलरभन्दा बढी जरिवाना गरिएको छ। यो घटनापछि नेपाली रेष्टुरेन्टहरुमा सरसफाईको विषय यतिबेला समूदायमा चासोको विषय बनेको छ ।
NSW Food Authority को अनुसन्धानपछि Burwood Local Court ले रेस्टुरेन्ट सञ्चालक कम्पनी तथा निर्देशकलाई १२ वटा खाद्य सुरक्षा उल्लंघनसम्बन्धी आरोपमा दोषी ठहर गरेको हो।
निरीक्षणका क्रममा रेस्टुरेन्टभित्र सरसफाइको अभाव, मुसाको फोहोर, खुला रूपमा राखिएको खाना तथा उचित खाद्य सुरक्षा मापदण्ड पालन नगरेको पाइएको अधिकारीहरूले बताएका छन्। साथै, उक्त रेस्टुरेन्टलाई साल्मोनेला संक्रमण फैलिएको घटनासँग पनि जोडिएको जनाइएको छ।
सन् २०२३ मा रेस्टुरेन्टमा खाना खाएपछि केही ग्राहक बिरामी परेको उजुरीपछि NSW Food Authority ले अनुसन्धान थालेको थियो। त्यसपछि गरिएको स्वास्थ्य निरीक्षणमा गम्भीर जोखिम देखिएपछि केही समयका लागि रेस्टुरेन्ट बन्द गर्नसमेत आदेश दिइएको थियो।
खाद्य सुरक्षा अधिकारीहरूले खाद्य व्यवसाय सञ्चालन गर्ने सबैले सुरक्षित र सफा वातावरणमा खाना तयार गर्नुपर्ने कानुनी जिम्मेवारी रहेको बताएका छन्। नियम उल्लंघन गर्ने व्यवसायमाथि भविष्यमा पनि कडा कारबाही जारी रहने चेतावनी दिइएको छ।
यस घटनापछि स्थानीय नेपाली समुदाय तथा सामाजिक सञ्जालमा खाद्य सुरक्षाबारे व्यापक बहस सुरु भएको छ। केहीले व्यवसायलाई सुधारको अवसर दिनुपर्ने बताएका छन् भने कतिपयले उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्नेलाई कडा कारबाही आवश्यक रहेको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया