काठमाडौं । भिक्टोरियाको विन्डम सिटी र ललितपुरको गोदावरी नगरपालिकाबीच औपचारिक रूपमा ‘मित्रता शहर’ सम्झौता मंगलबार सम्पन्न भएको छ ।
विन्डम सिटीमा आयोजित एक विशेष कार्यक्रममा गरिएको सम्झौतामा विन्डम सिटीको तर्फबाट मेयर प्रीत सिंह र गोदावरी नगरपालिकाको तर्फबाट प्रशासनिक प्रमुख मानबहादुर खड्काले हस्ताक्षर गरेका छन् ।
दुवै पक्षले यस सहकार्यलाई स्थानीय तहमा सांस्कृतिक, अनुभव र विकासको पूर्वाधार विकासका योजना साट्ने महत्वपूर्ण र ऐतिहासिक उपलब्धिका रूपमा उल्लेख गरेका छन् । ‘यस ऐतिहासिक सम्झौताले दुई नगरबीच आपसी सहकार्य, अनुभव आदानप्रदान तथा दीर्घकालीन सम्बन्ध विस्तार गर्ने उद्देश्य लिएको छ’, सम्झौतामा भनिएको छ ।

ललितपुरको गोदावरी नगरपालिका प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा सांस्कृतिक सम्पदाले समृद्ध क्षेत्रका रूपमा परिचित छ । त्यस्तै, विन्डम सिटी आधुनिक पूर्वाधार, बहुसांस्कृतिक समाज र दिगो शहरी विकासको उत्कृष्ट उदाहरणका रूपमा चिनिन्छ ।
सम्झौतामा दुवै पक्षले भविष्यमा आपसी भ्रमण, सांस्कृतिक आदानप्रदान तथा संस्थागत सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् ।
अष्ट्रेलियाको विन्डहाम सिटीले ५ मे २०२६ मा नेपालका गोदावरी नगरपालिकासँग औपचारिक रूपमा “फ्रेन्डशिप सिटी” मैत्री शहर सम्झौता गर्ने निर्णय डिसेम्बर २०२५ मा काउन्सिलले गरेको थियो।
विन्डहाममा भिक्टोरियाको सबैभन्दा ठूलो नेपाली समुदायमध्ये एक बसोबास गर्छ, जुन राज्यकै चौथो ठूलो समुदाय हो। यस समुदायले सांस्कृतिक तथा सामाजिक सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

गोदावरीबाट आएको टोलीले भ्रमणका क्रममा विभिन्न स्थानीय स्थानहरूको अवलोकन गरेको थियो, जसमा सामुदायिक शिक्षा केन्द्र, नवप्रवर्तन केन्द्र, विद्यालय, फार्म, व्यवसाय र पर्यटन क्षेत्रहरू समावेश छन्। यसबाट उनीहरूले विन्डहामको विकास र प्रगतिबारे जानकारी लिएका थिए।
विन्डम सिटीका मेयर प्रीत सिंह र गोदावरी नगरपालिका प्रशासनिक प्रमुख मानबहादुर खड्काले सम्झौताका लागि आवश्यक समन्वय गरेको भन्दै पर्यटन व्यवसायी तथा अभियन्ता डिएन घिसिङलाई धन्यवाद दिए ।
कार्यक्रममा नेपाली मूलका उद्यमी, व्यवसायी तथा स्थानीय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो । उपस्थित सहभागीहरूले सम्झौतालाई नेपाल र अष्ट्रेलियाबीचको दीर्घकालीन कूटनीतिक सम्बन्धलाई स्थानीय तहमा अझ सुदृढ बनाउने ऐतिहासिक कदमका रूपमा स्वागत गरेका छन् ।

कार्यक्रममा वक्ताहरूले शिक्षा, पर्यटन, संस्कृति, वातावरण संरक्षण, आर्थिक विकास तथा समुदाय विकासका क्षेत्रमा सहकार्यले दुई सहरलाई दीर्घकालीन फाइदा पुग्ने अपेक्षा गरिएको छ ।
सम्झौताले नेपाल र अष्ट्रेलियाबीच विगत ६६ वर्षदेखि कायम रहेको कूटनीतिक सम्बन्ध स्थानीय तहमा विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया