सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियामा नेपालीहरुको संख्या बढ्दै जाँदा विभिन्न आपराधिक घटना र लापर्वाहीका कारण उनीहरुले बद्नामी कमाउने क्रम पनि बढेको छ । केही समय अघि एक बृद्ध नागरिकबाट रकम ठगी गरेको आरोपमा एक विद्यार्थी युवती पक्राउ परेकी थिइन् भने अहिले फेरि चाईल्ड केयरमा काम गर्ने एक नेपाली युवाले त्यहाँ सुतिरहेका विद्यार्थीहरुलाई चड्कन हानेको आरोपमा पक्राउ परेका छन् ।
घटना २३ अप्रिलको भएपनि उनी अप्रिल २५ तारिख पक्राउ परेका थिए । सीसीटिभीमा उनले सुतिरहेका दुई बालबालिकालाई थप्पड हानेको देखिएको अभिभावकहरुले दावी गर्दै कारवाहीको लागि प्रहरीमा निवेदन दिएका थिए । यस लगत्तै उनलाई पक्राउ गरिएको थियो भने पहिलो पटक गरेको अपराध भएका कारण धरौटीमा छोडिएको थियो । तर, मे ४ तारिख पुनः उनलाई पक्राउ गरिएको छ । उही प्रकृतिको कुटपिट अन्य दुई बालबालिकालाई पनि गरेको भिडियोमा देखिएपछि उनलाई पक्राउ गरिएको र अहिले हिरासतमै राखिएको जनाइएको छ । घटनामा आरोपी मात्रै भएका कारण हामीले २४ वर्षीय नेपाली युवाको नाम सार्वजनिक गरेका छैनौं । तर, पछिल्लो समय विभिन्न नक्कली र गैरकानूनी कार्यहरुमा समेत नेपाली युवाहरुको संलग्नता बढ्दै गएको पाइएको छ । मुख्यत ठगीका घटनाहरुमा नेपाली विद्यार्थीहरु प्रयोग हुन थालेका छन् ।
न्यू साउथ वेल्सको सिड्नीस्थित पानानिया क्षेत्रमा रहेको एक चाइल्डकेयर केन्द्रमा बालबालिकामाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका ति नेपाली विद्यार्थीलाई संस्थाले बर्खास्त समेत गरिसकेको छ ।
प्रहरीले जनाए अनुसार, आरोपीलाई सिड्नीको बेलमोरस्थित घरबाट पुनः नियन्त्रणमा लिइएको हो र उनलाई क्याम्प्सी प्रहरी स्टेशनमा राखेर अदालतमा पेश गरिएको छ। अहिले उनीमाथि चारवटा आक्रमणसम्बन्धी आरोप लागेको छ।
उक्त चाइल्डकेयर केन्द्रले घटनापछि ती कर्मचारीलाई तत्काल बर्खास्त गरेको जनाएको छ र बालबालिकाको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
यस घटनाले अष्ट्रेलियाको चाइल्डकेयर क्षेत्रमा सुरक्षा र निगरानीप्रति गम्भीर चिन्ता बढाएको छ। विज्ञहरूले यस्ता घटनाबाट बच्न कडा नियमन, निगरानी र अभिभावक सचेतना आवश्यक रहेको बताएका छन्।

प्रतिक्रिया