सिड्नीमा उद्यमी सम्मेलन गर्दै एनआरएन अष्ट्रेलिया, उत्कृष्ट आईडियालाई १० हजार डलर !

सिड्नीमा उद्यमी सम्मेलन गर्दै एनआरएन अष्ट्रेलिया, उत्कृष्ट आईडियालाई १० हजार डलर !

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वक्ताहरुले दिँदैछन् वित्तिय संकटमोचनको ज्ञान



सिड्नी, अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले ‘नेशनल अन्टप्रेनर कन्फ्रेन्स २०२६’ आयोजना गर्ने भएको छ । सफल उद्यमी, नवआगन्तुक र व्यवसाय गरिरहेकाहरुलाई एउटै थलोमा जुटाउने उद्देश्यका साथ हुन लागेको सम्मेलनको नारा कनेक्ट, ईन्सपायर एण्ड ग्रो राखिएको छ । आगामी मे ९ शनिवार सिड्नीस्थित ‘हायात रिजेन्सी’ मा सम्मेलन आयोजना हुनेछ । एकअर्कासँग व्यवसायिक सम्बन्धको सुरुवात गर्न सम्मेलन प्रभावकारी हुने अपेक्षा छ । एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष निजन चौलागाईंले सफल व्यवसायीको कदर, नवआगन्तुकलाई प्रोत्साहन र विज्ञहरुसँग उनीहरुलाई जोड्न सम्मेलन आयोजना गरिएको बताए ।

“सम्मेलनमा प्रस्तुति दिने सबैजनाले आयोजकबाट दिइएको विषयवस्तु अनुसार तयारी गर्नुभएको छ, यस्तो गर्दा कुरा दोहोरिने सम्भावना हुँदैन ।” उनले भने । उनका अनुसार यस सम्मेलनमा अष्ट्रेलियाको राजनीतिक दलको प्रतिनिधित्व गर्दै सांसदहरु सहभागी हुनेछन् भने बहुसंस्कृतिमन्त्री, छायाँ बहुसंस्कृतिमन्त्री, विपक्षी दलको नेता लगायतलाई निमन्त्रण गरिएको छ ।

नेपाली समूदायले उद्यम, व्यवसाय क्षेत्रमा गरेको प्रगतिबारे उनीहरुले समेत जानकारीको अवसर प्राप्त गर्नेछन् । सम्मेलनमा दुईवटा प्यानल सेसन हुनेछ जसमा सफल महिला उद्यमीहरुले पनि बहस गर्नेछन् । सम्मेलनमा प्रस्तुति दिने वक्ताहरुले मुख्यत एआई, विजनेस स्ट्राटेजी, वित्तिय जोखिम, लगानीको अवसरका विषयमा आफ्नो अनुभव र अष्ट्रेलियाको हालको अवस्थाबारे जानकारी गराउनेछन् ।
सम्मेलनमा अष्ट्रेलियाकी प्रतिष्ठित सञ्चार विज्ञ तथा ब्रोडकास्टर ओलम्पिया क्विटोस्कीले “तपाईँको कथा तपाईँ भन्दा राम्रो अरूले भन्न सक्दैन” शीर्षकमा सत्र सञ्चालन गर्नेछिन्। उनले व्यक्तिगत ब्रान्डिङ र प्रभावकारी प्रस्तुतिकलाका बारेमा सहभागीहरूलाई प्रशिक्षण दिने तयारी छ ।

यस्तै व्यवसायिक जोखिम व्यवस्थापनका अन्तर्राष्ट्रिय विज्ञ एनरिको पेकोराले “स्मार्ट रिस्क म्यानेजमेन्ट”मार्फत व्यावसायिक नोक्सानी कसरी घटाउने र प्रतिस्पर्धी बजारमा कसरी लाभ लिने भन्नेबारे व्यवहारिक ज्ञान दिने तयारी छ । अर्का वक्ता जकाटा कन्सल्टिङका प्रमुख कार्यकारी टासो पापाचाजिसले सेल्स, लिडरशिप फोर दि ग्रोथ विषयमा आफ्नो प्रस्तति दिनेछन् भने त्यहाँ उपस्थितको जिज्ञासाको समेत जवाफ दिनेछन् । ओसर ग्रुन्सवर्ग, केएफए ग्रुपको तर्फबाट रेस्ता झा र जस्मिन हाडा बज्राचार्यको प्रस्तुति समेत समेटिएको छ ।

महिला उद्यमीतर्फ सविना सिलवाल, सुजाता चालिसे र श्रृष्टि झाको प्यानल डिस्कसन हुनेछ । प्यानल डिस्कसनतर्फ नै अष्ट्रेलियामा हालको लगानीको अवस्था, वित्तिय वास्तविकताका विषयमा अर्थविद् एटम गो टियाम, डा. किरण थापा, क्रेग बेटालीले सार्थक छलफल गर्नेछन् ।

यस्तै नेपालबाट आउने वक्ताहरुले नेपालमा लगानीको अवसर, परिवर्तित राजनीतिक सन्दर्भमा डायस्पोराबाट अपेक्षा लगायतमा आफ्नो प्रस्तुति दिनेछन् । बैंकर अनिल केशरी शाहले “रेमिटेन्सदेखि लगानीसम्मस् आर्थिक वृद्धिका लागि डायस्पोरा पुँजीको परिचालन” विषयमा प्रस्तुति दिने तयारी गरेका छन् । उनले विदेशमा आर्जित धनलाई नेपालको उत्पादक क्षेत्रमा कसरी रूपान्तरण गर्न सकिन्छ भन्नेबारे मार्गचित्र प्रस्तुत गर्नेछन् । परिवर्तित राजनीतिक सन्दर्भमा डायस्पोराले नेपालमा गर्ने लगानी र सम्भावनाहरुमा उनको प्रस्तुति केन्द्रित हुने बताइएको छ ।

उद्यमी सम्मेलनमा आकर्षक नयाँ विजनेस आईडियाका साथ आउने ७ प्रतिस्पर्धीले आफ्नो प्रस्तुति दिन पाउनेछन् । त्यसमध्ये एकजनाले सर्वोत्कृष्ट बन्दै १० हजार डलर राशीको पुरस्कार जित्नेछन् । “आफ्नै व्यवसाय सुरु गर्ने चाहना भएका नेपाली युवाहरुलाई प्रोत्साहन गर्न हामीले पुरस्कार राशी १० हजार डलर स्पोन्सर गर्ने निर्णय गरेका हौं ।” ग्रेस ईन्टरनेशनल एजुकेशनका निर्देशक रामचन्द्र पौडेलले कविसीखबरलाई बताए । उनले प्राप्त भएका सैयौं आवेदनमध्येबाट छनोट गरी टप ७ लाई प्रस्तुतिका लागि सम्मेलनमा बोलाइने जानकारी दिए ।