सिड्नी, अष्ट्रेलिया । सिड्नीको तारोङ्गा चिडियाखानामा यतिबेला हरि नामको एकसिंङ्गे गैंडा हेर्न मानिसहरुको उत्साह देखिन्छ । हालै मात्र डब्बोमा रहेको अर्को चिडियाखानाबाट स्थानान्तरण गरेर यहाँ ल्याइएको गैंडा दक्षिण एशियाली क्षेत्र अझ मुख्यत नेपाल र भारतमा पाइने भएका कारण नेपाली दर्शकहरुलाई पनि यसले धेरै नै आकर्षित गरेको छ । तर, यो गैंडा नेपालबाट ल्याइएको भने होइन । जपान र अमेरिकाको चिडियाखानामा जन्मिएका डोरा र अमला नामक गैंडाको सन्तान हरि सन् २०२१ मा अष्ट्रेलियामा जन्मिएको हो ।
अहिले सिड्नीको तारोङ्गा चिडियाखानामा यसलाई सुहाउँदो बासस्थान निर्माण गरेर स्थानान्तरण गरिएको छ । हरिको सिड्नी आगमनले संरक्षको प्रयास र सचेतना अभिबृद्धिमा थप मद्दत पुग्ने अधिकारीहरुले विश्वास लिएका छन् ।
हरिको आगमनलाई विशेष बनाउन मे महिनाभरि तारोङ्गा चिडियाखाना जाने व्यक्तिहरुले ३० प्रतिशत छुट समेत पाउन सक्नेछन् । आगामी ३ मे आईतबारका दिन हरि स्वागतमा विशेष कार्यक्रम आयोजना हुँदैछ ।
आईतबारको दिनभर चिडियाखानामा नेपाली खाना, गीत संगीतका साथ रमाइलो समेत गर्न सकिनेछ । कार्यक्रम विहान साढे १० बजे सुरु हुनेछ । चिडियाखाना र न्यूसाउथवेल्सका लागि नेपाली वाणिज्यदूतको कार्यालयको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।


प्रतिक्रिया