काँग्रेसको क्रियाशील सदस्यता नवीकरण गर्ने मिति एक साता थपियो

काँग्रेसको क्रियाशील सदस्यता नवीकरण गर्ने मिति एक साता थपियो



काठमाडौँ । नेपाली कांग्रेसले सदस्यता नवीकरण प्रक्रियामा छुटेका जिल्ला र प्रतिनिधिसभा क्षेत्रलाई लक्षित गर्दै एक साता अतिरिक्त समय दिने निर्णय गरेको छ ।
महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा ललितपुरस्थित वीपी स्मृति भवनमा बसेको बैठकले डिजिटल प्रणालीमा सदस्यता प्रविष्टि गर्न नसकेका क्षेत्रलाई अवसर दिन उक्त निर्णय गरेको हो ।

बैठकले जनसम्पर्क समितिहरूलाई वर्गीकरण गरी अधिवेशन सम्पन्न भएका र हुन नसकेका समितिको अवस्थाअनुसार समस्या समाधान गर्ने निर्णय गरेको छ । अधिवेशन सम्पन्न गरिसकेका समितिका सदस्यता विवरणलाई पार्टीको विधानअनुसार अद्यावधिक गरिने जनाइएको छ ।

त्यस्तै, विदेशस्थित जनसम्पर्क समितिका लागि अनलाइनमार्फत् क्रियाशील सदस्यता फारम भर्ने व्यवस्था निरन्तरता दिने निर्णय गरिएको छ। यसबारे जानकारी पार्टीको आधिकारिक वेबसाइटमा सार्वजनिक गरिने बताइएको छ ।

नेपाली नागरिकता भएका व्यक्तिलाई जनसम्पर्क समिति सदस्यता तथा क्रियाशील सदस्यता उपलब्ध गराउने व्यवस्था मिलाइने र अन्यको हकमा पार्टीको विधानअनुसार प्रक्रिया अपनाइने निर्णय गरिएको छ ।

यसैगरी, विभिन्न कारणले नविकरण छुटेका सदस्यहरूको हकमा केन्द्रमा परेको निवेदनका आधारमा एक साताको विशेष समय दिई नविकरण गर्ने व्यवस्था मिलाइने भएको छ ।

साथै रिक्त रहेका वडा सभापतिहरू भएका स्थानमा सम्बन्धित समितिले तोकेको व्यक्तिमार्फत सदस्यता अद्यावधिक गर्न सकिने निर्णय गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।