सहमतिमा संसदीय दलको नेता छान्न काँग्रेसको निर्वाचन प्रक्रिया स्थगित

सहमतिमा संसदीय दलको नेता छान्न काँग्रेसको निर्वाचन प्रक्रिया स्थगित



काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया हाललाई स्थगित गरिएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सर्वसम्मत रूपमा नेता चयन गर्न निर्देशन दिएसँगै शुक्रबारका लागि तय गरिएको निर्वाचन प्रक्रिया रोकिएको हो ।

निर्वाचन समितिका संयोजक प्रकाश रसायली ुस्नेहीुका अनुसार शनिबार साँझसम्म सर्वसम्मत उम्मेदवार तय गर्न पार्टीले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । कार्यदलमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे तथा निर्वाचन समितिको सहभागिता रहनेछ ।

संयोजक रसायलीका अनुुसार “पार्टीको बृहत्तर हित, लोकतन्त्र र संविधानमाथि आएका चुनौतीहरूको सामना गर्न संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गर्नुपर्ने आवश्यकता छ । कार्यसम्पादन समितिको निर्देशनअनुसार भोलि साँझसम्म साझा उम्मेदवार तय गर्ने प्रयास हुनेछ ।” उनले सभापति गगनकुमार थापाले पनि सर्वसम्मत चयनका लागि नेताहरूसँग आवश्यक छलफल गर्ने जानकारी दिएका छन् ।
पार्टीभित्र दलको नेताका लागि विभिन्न नामहरू चर्चामा आएपछि चयन प्रक्रिया केही पेचिलो बनेको छ । सभापति थापाले सांसद मोहन आचार्य र उपसभापति शर्माले समानुपातिक सांसद भीष्मराज आङ्देम्बेलाई अघि सारेका छन् । यस्तै, अर्का सांसद अर्जुननरसिंह केसीले पनि सहमति नभए आफूले उम्मेदवारी दिने अडान राखेका छन् । सहमतिको प्रयास सफल नभए पुनः निर्वाचन तालिका तय गरिने कांग्रेसले जनाएको छ ।