वास्तविक सुकुम्बासीलाई १५ दिनभित्र उचित व्यवस्थापन गरिने, अहिले होल्ड सेन्टरमा

वास्तविक सुकुम्बासीलाई १५ दिनभित्र उचित व्यवस्थापन गरिने, अहिले होल्ड सेन्टरमा



जिल्ला प्रशासन कार्यालय काठमाडौंले नदीकिनारमा अवैध रूपमा बसोबास गर्दै आएका सुकुमवासीलाई लक्षित गर्दै ६ बुँदे सूचना जारी गरेको छ। सूचनाअनुसार आज साँझ ७ बजेसम्म सबै घर–टहराहरू खाली गर्न निर्देशन दिइएको छ।
प्रशासनले आफ्नो सामान आफैँ सार्न नसक्ने अवस्थाका लागि सुरक्षाकर्मीको सहयोग उपलब्ध गराउने जनाएको छ। महानगरीय प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई जानकारी गराएमा ढुवानी व्यवस्थासमेत मिलाइने उल्लेख गरिएको छ।
सूचनामा घरमा रहेका लत्ताकपडा, सरसामान तथा घरपालुवा जनावरलाई सुरक्षित स्थानमा तत्काल सार्न आग्रह गरिएको छ। साथै अपांगता भएका व्यक्ति, बालबालिका, गर्भवती, सुत्केरी, वृद्धवृद्धा तथा बिरामीलाई प्राथमिकताका साथ स्थानान्तरण गर्न भनिएको छ।
प्रशासनका अनुसार वैशाख १२ गते बिहान ६ बजेदेखि अवैध संरचना भत्काउने र अतिक्रमित जग्गा पूर्ण रूपमा खाली गराउने कार्य सुरु गरिनेछ। उक्त कार्यमा अवरोध पुर्‍याए कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ।

उक्त क्षेत्रबाट विस्थापित गरिएका परिवारलाई सरकारले तोकेका न्यूनतम आधारभूत सुविधा भएका अस्थायी बसोबास स्थलमा राखिने जनाइएको छ। साथै, वास्तविक भूमिहीन सुकुमवासीहरूको पहिचानका लागि छिट्टै लगत संकलन र छानबिन प्रक्रिया सुरु गरिनेछ।

प्रशासनले आगामी १० देखि १५ दिनभित्र प्रमाणित भूमिहीनहरूका लागि उचित बसोबासको व्यवस्था गर्ने तयारी भइरहेको भन्दै सबैसँग सहयोगको अपिल गरेको छ।