काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठकका लागि नौबुँदे प्रस्तावित कार्यसूची सार्वजनिक गरेको छ । पार्टी प्रवक्ता मणिष झाले भोलि (सोमबार) बस्ने बैठकका लागि नौबुँदे कार्यसूची सार्वजनिक गरेका हुन् ।
कार्यसूचीबारे जानकारी गराउँदै उनले संगठनात्मक, नीतिगत तथा विधानसम्बन्धी महत्वपूर्ण विषयहरूमा छलफल हुने बताएका छन् । बैठकको सुरुवात पार्टी गतिविधिबारे विस्तृत व्रिफिङबाट हुने कार्यसूचीमा उल्लेख छ । त्यसपछि केन्द्रीय सदस्यहरूको रिपोर्टिङ रहनेछ, जसअन्तर्गत २० जना सदस्यले दुई–दुई मिनेटका दरले आफ्नो धारणा राख्नेछन् ।
यसैगरी, बैठकमा केन्द्रीय समिति पदाधिकारी मनोनयनको विषय पनि प्रमुख एजेन्डाका रूपमा रहनेछ । आगामी महाधिवेशनलाई लक्षित गर्दै कार्यविधि मस्यौदामाथि छलफल गरिनेछ भने पार्टी विधान संशोधनसम्बन्धी विषयमा पनि निर्णय लिने तयारी गरिएको छ ।
स्थानीय तह निर्वाचनलाई ध्यानमा राख्दै उम्मेदवार क्लव गठन तथा आवेदन आह्वानसम्बन्धी प्रस्ताव पनि कार्यसूचीमा समेटिएको छ । त्यस्तै, विदेशमा रहेका नेपालीलाई प्रवासबाटै मताधिकार दिने विषयमा पनि छलफल हुने जनाइएको छ ।
बैठकले सचिवालयका निर्णय अनुमोदन गर्नेछ भने विविधअन्तर्गत विभिन्न आयोग, निकाय तथा पदाधिकारीबाट प्राप्त पत्राचारमाथि छलफल हुनेछ । साथै, विषयगत विभागका योजना तयारी र नीति मन्थनका लागि निर्देशन दिने र संसदीय दलको विधान संशोधनसम्बन्धी विषयमा समेत निर्णय लिइने कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया