काठमाडौं । सर्वोच्च अदालतले गगन कुमार थापा नेतृत्वको काँग्रेसलाई नै आधिकारिकता दिएपछि यसलाई हेर्ने दृष्टिकोण र आगामी कार्ययोजनाका विषयमा पूर्णबहादुर खड्काको निवासमा बसेको देउवा पक्षीय नेताहरुको भेलाले सर्वोच्चको आदेश स्वीकार गर्ने निर्णय गरेका छन् । अनौपचारिक भेला नामाकरण गरिएको भएपनि अब अघि बढ्ने विषयमा केन्द्रित छलफलमा अदालतको आदेश मान्नुको विकल्प नभएको सबैले एकमत राखेका थिए ।
शनिबार गोल्फुटारस्थित खड्काकै निवासमा भएको छलफलमा अदालतको फैसलालाई स्वीकार गरेर जाने निर्णय भएको नेता मीन विश्वकर्माले बताएका छन्। पर्याप्त असन्तुष्टिका आधारहरू हुँदा हुँदै पनि फैसलाले आधार मानेका विभिन्न विषयहरू विरोधासपूर्ण र विवादास्पद हुँदा हुँदै पनि त्यो फैसलालाई स्वीकार गर्ने कुरा आज छलफल भएको छ, विश्वकर्माले बैठकपछि पत्रकारहरुलाईजानकारी दिए ।
उनले कांग्रेसले विधिको शासन, शक्ति पृथकीकरणको आधारमा स्वतन्त्र न्यायपालिकाको निर्णयलाई सदैव आत्मसात गर्ने नीति लिइरहेको र त्यही परम्पराबाट हुर्किँदै बढ्दै आएकोले अदालतको फैसलामा असन्तुष्टि भए पनि स्वीकार गर्ने निष्कर्ष निकालिएको बताए। बैठक भने आईतबार पनि बस्ने जनाइएको छ ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले निर्वाचन आयोगको निर्णय सदर गर्दै शेरबहादुर देउवा र नेता खड्का पक्षको रिट खारेज गरिदिएको थियो ।

प्रतिक्रिया