काठमाडौँ। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएई र ओमान सम्मिलित त्रिकोणात्मक शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । क्यानले शुक्रबार नियमित कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो ।
घोषित टोलीको उपकप्तानमा दीपेन्द्रसिंह ऐरी रहनुभएको छ । युएई विरुद्धको टी–२० शृङ्खलामा आराम दिइएका कप्तान रोहित लिग–२ को एकदिवसीय शृङ्खलाको कप्तान बन्नुभएको हो ।
लिग–२ खेल्ने नेपाली टोली
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी रहनुभएको छ ।
क्यानले वैकल्पिक खेलाडीका रूपमा हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, इशान पाण्डे र देव खनाललाई राखेको छ ।

एकदिवसीय ढाँचाको यस महत्त्वपूर्ण प्रतियोगिताका लागि क्यानले टोलीमा अनुभवी खेलाडीलाई प्राथमिकता दिएको छ । सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने जस्ता अनुभवी बलरको उपस्थिति रहेको टोलीमा विनोद भण्डारीले पुनरागमन गर्नुभएको छ । युवा ब्याटर अर्जुन कुमालले पनि टोलीमा स्थान बनाउन सफल हुनुभएको छ ।
विश्वकप छनोटका दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण मानिएको यो लिग–२ शृङ्खलामा नेपालले युएई र ओमानसँग प्रतिस्पर्धा गर्नेछ । अहिलेको अवस्थामा नेपालले लिग २ मा २० खेल खेल्दा पाँचमा जित निकाल्दै १२ अङ्क मात्र बनाएको छ । तालिकामा नेपाल पुछारबाट दोस्रो स्थानमा छ । अन्तिम स्थानमा रहेको यूएईले समान खेलमा १० अंक जोडेको छ ।

प्रतिक्रिया