नेपाली सोसाइटी अफ तस्मानियाको आयोजनामा नेपाली नयाँ वर्ष २०८३ को अवसरमा भव्य तथा बहुसांस्कृतिक उत्सव आयोजना हुने भएको छ। तस्मानिया सरकार तथा ग्लेनोर्ची सिटी काउन्सिलको सहयोगमा उक्त कार्यक्रम आगामी आइतबार, १२ अप्रिल २०२६ मा मोन्ट्रोज फोरशोर पार्क, मोन्ट्रोज, तस्मानिया मा सम्पन्न हुने भएको हो।
“विविधताभित्र विविधता” भन्ने मूल नाराका साथ आयोजना हुने उक्त कार्यक्रमले नेपाली समुदायभित्र रहेको सांस्कृतिक, भाषिक, जातीय तथा क्षेत्रीय विविधतालाई तस्मानियाको बहुसांस्कृतिक समाजसँग जोड्दै एकता र सहअस्तित्वको सन्देश प्रवाह गर्ने आयोजकले जनाएको छ।
यस वर्षको कार्यक्रमको विशेष आकर्षणका रूपमा तस्मानियाकी गभर्नर प्रोफेसर द अनरेबल बारबरा बेकर एसी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम तय भएको छ।

फाइल फोटो: नेपाली सोसाइटी अफ तस्मानिया
कार्यक्रमबारे जानकारी दिँदै नेपाली सोसाइटी अफ तस्मानियाका सचिव मनीष प्रसाईले यस वर्षको नयाँ वर्ष उत्सव विगतभन्दा अझ भव्य, समावेशी र बहुसांस्कृतिक बनाइएको बताए। उनले नेपाली समुदायसँगै तस्मानियाका विभिन्न समुदायलाई एउटै मञ्चमा ल्याएर विविधताको उत्सव मनाउने उद्देश्य रहेको उल्लेख गरे।
उनका अनुसार कार्यक्रममा नेपाली सांस्कृतिक प्रस्तुति, बहुसांस्कृतिक लाइभ कन्सर्ट, चिनियाँ, भारतीय, सामोअन, मेक्सिकन तथा कोलम्बियन समुदायका सांस्कृतिक प्रस्तुति, स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति तथा लोकप्रिय नेपाली ब्याण्ड नेप्सिडाज को विशेष साँझको कन्सर्ट रहनेछ।
त्यसैगरी नेपाली तथा बहुसांस्कृतिक फुड स्टल, कम्युनिटी स्टल, ओएचए हक्की तस्मानिया तथा युनियन तस्मानिया माइग्रेन्ट वर्क राइट्स हब का सूचना स्टल, साथै बालबालिका तथा परिवारका लागि विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिहरू पनि रहने आयोजकले जनाएको छ।





फाइल फोटो: नेपाली सोसाइटी अफ तस्मानिया
नेपाली सोसाइटी अफ तस्मानिया तस्मानियामा बसोबास गर्ने नेपाली समुदायको एक सक्रिय सामाजिक संस्था हो, जसले नेपाली भाषा, संस्कृति, परम्परा तथा सामुदायिक एकतालाई प्रवर्द्धन गर्दै विभिन्न सामाजिक, सांस्कृतिक तथा सामुदायिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ। संस्थाले नेपाली समुदाय र तस्मानियाको बहुसांस्कृतिक समाजबीच सहकार्य, सद्भाव तथा सहभागिता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
नेपाली सोसाइटी अफ तस्मानियाकी प्रेसिडेन्ट रोजिना ताम्राकारले तस्मानियामा रहेका सम्पूर्ण नेपाली तथा अन्य समुदायका सदस्यहरूलाई परिवार, साथीभाइ तथा छिमेकीसहित कार्यक्रममा सहभागी भई नेपाली नयाँ वर्षसँगै बहुसांस्कृतिक एकताको उत्सव मनाउन आग्रह गरेकी छन्।


प्रतिक्रिया