मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियाको मेलबर्नमा ग्रेस कप क्रिकेट २०२६ आगामी सातादेखि सुरु हुँदैछ । तीन महिनासम्म चल्ने प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ । तेश्रो संस्करणमा प्रवेश गरेको ग्रेस कप १२ हजार डलरको पुरस्कारका कारण चर्चित छ ।
आगामी १२ तारिखदेखि प्रेस्टनस्थित टीडब्लू ब्लेक पार्कमा सुरु हुने प्रतियोगिताको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रतियोगिताको उपाधि विजेता टोलीले ६ हजार डलर नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने बताइएको थियो । यस्तै दोश्रो हुने टोलीले ३ हजार डलर नगद पुरस्कार प्राप्त गर्नेछ भने ट्रफी र प्रमाणपत्र पनि दिइनेछ । यस्तै प्रतियोगिताका क्रममा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुले पनि नगद नै पुरस्कार समेत प्राप्त गर्नेछन् ।


प्रतियोगितामा ट्राईकोन क्रिकेट क्लब, टीडब्लूजीजी राईजिङ सन, हिमालयन क्रिकेट क्लब, गोर्खा लायन्स, म्याक्सी म्याक्स एभरेष्ट युनाईटेड, काठमाण्डू क्यापिटल्स, चितवन क्रिकेट क्लब सहभागी छन् । भिक्टोरिया क्रिकेट लिगको आयोजनामा हुन लागेको प्रतियोगिताको मुख्य प्रायोजक ग्रेस ईन्टरनेशनल रहेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै आयोजक संस्थाका अध्यक्ष विकास सापकोटाले प्रतियोगिताको नियम, विधि र उपलब्ध सुविधाहरुको विषयमा जानकारी गराएका थिए । यस्तै ग्रेस ईन्टरनेशनलका निर्देशक दिपक आचार्यले नेपाली समूदायमा विभिन्न सामाजिक क्रियाकलाप मार्फत सहकार्य हुन पाउनु खुशीको कुरा भएको बताएका थिए । उनले प्रतियोगितामा सहयोगी सबैलाई धन्यवाद पनि दिए । यस्तै ग्रेसका भिसा अपरेसन प्रमुख प्रकाश रेग्मीले खेलाडी, स्वयंसेवक, प्रायोजक लगायतलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया