तस्मानिया — तास्मानियन नेपालीज क्रिकेट एसोसिएसन (टीएनसीए) को आयोजनामा तास्मानियन नेपालीज प्रिमियर लिग (टिएनपिएल) सिजन–२ ग्लेनोर्कीको एडी स्ट्रिट ओभलमा सम्पन्न भएको छ । प्रतियोगितामा बेस्ट स्ट्राइकर्सले ग्रेस डायनामोजलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
अन्तिम खेलमा पहिले ब्याटिङ गरेको ग्रेस डायनामोजले २० ओभरमा ९ विकेट गुमाएर ९२ रन बनाएको थियो । जवाफमा बेस्ट स्ट्राइकर्सले १५ दशमलव ४ ओभरमा ४ विकेट गुमाउँदै ९६ रन बनाएर लक्ष्य पूरा गर्यो ।
जितका लागि राजन मगरले ३९ बलमा अविजित ४० रन बनाए । उनले संयमित खेल प्रदर्शन गर्दै टोलीलाई जित दिलाए ।
लिग चरणमा ग्रेस डायनामोज अपराजित रहँदै आएको थियो । तर फाइनलमा बेस्ट स्ट्राइकर्सले दबाबमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भयो ।

प्रतियोगितामा सन्दीप अधिकारी उत्कृष्ट खेलाडी घोषित भए । उनले २०८ रन बनाउनुका साथै १२ विकेट लिँदै ८ क्याचसमेत लिए ।त्यस्तै, सुभाष विश्वकर्मा उत्कृष्ट बलर घोषित भए । उनले प्रतियोगिताभर १५ विकेट लिए । यसैगरी, राजन मगर उत्कृष्ट ब्याट्सम्यान घोषित भए । उनले प्रतियोगितामा २४९ रन बनाए ।
उपाधि विजेता बेस्ट स्ट्राइकर्सले ५ हजार अष्ट्रेलियन डलर, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता ग्रेस डायनामोजले मेडलमा सीमित भएको छ ।
अन्तिम खेलमा ग्लेनोर्की सिटी काउन्सिलका एल्डर म्यान स्टुअर्ट स्लेड, नेपाली राष्ट्रिय क्रिकेट खेलाडी प्रदीप सिंह ऐरी, अजी फाइनान्स एण्ड होम लोनस् – तस्मानियाका निर्देशक रेवन्त बस्नेत, आमा एसियन ग्रोसरीका सुमित सापकोटा तथा तास्मानियन नेपाली क्रिकेट एसोसिएसन (टीएनसीए) का अध्यक्ष कमल भण्डारीको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको सम्पूर्ण कमेन्ट्री निरञ्जन भण्डारीले गरेका थिए भने खेलको प्रत्यक्ष प्रसारण एक्सोटिक लेनले गरेको थियो ।
चार फ्रेन्चाइज टिम सहभागी रहेको यस प्रतियोगितामा पेनी रोयल्स सेमिफाइनलसम्म पुगेको थियो भने डाँफे रेन्जर्सले पनि प्रतिस्पर्धात्मक खेल देखाएको थियो ।
तास्मानियन नेपाली क्रिकेट एसोसिएसन (टीएनसीए) को आयोजनामा सञ्चालन भइरहेको यस प्रतियोगितालाई ग्लेनोर्की सिटी काउन्सिलको अनुदान सहयोग प्राप्त भएको थियो भने टासल समूह सहयोगी संस्थाको रूपमा रहेको थियो।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भण्डारीले प्रतियोगिता सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण फ्रेन्चाइज टोली, टिएनपिएल कार्यसमिति, टीएनसीए कार्यसमिति, प्रायोजक संस्था, सामुदायिक संघसंस्था, सिटी काउन्सिल, क्रिकेट तस्मानिया, दर्शक तथा सम्पूर्ण स्वयंसेवकप्रति धन्यवाद व्यक्त गरेका थिए ।
उनले टीएनसीएले आगामी दिनमा अझ बृहत् कार्यक्रमहरू ल्याउने जानकारी दिए । साथै टीएनसीए तस्मानियामा रहेर क्रिकेटको विकासका लागि निरन्तर काम गर्ने संस्थाका रूपमा अघि बढिरहेको बताए ।
तस्बिर: जितेन फोटोग्राफी / एक्सोटिक लेन




























प्रतिक्रिया