अष्ट्रेलियाको भिक्टोरिया राज्य सरकारले अप्रिल महिनाभर सार्वजनिक यातायात निःशुल्क गर्ने घोषणा गरेको छ। बढ्दो इन्धन मूल्यका कारण सर्वसाधारणलाई राहत दिन यो निर्णय लिइएको हो।
सरकारका अनुसार अप्रिल १ देखि ३० सम्म राज्यभर सञ्चालन हुने सबै ट्रेन, ट्राम, बस तथा क्षेत्रीय सेवा निःशुल्क रूपमा प्रयोग गर्न सकिनेछ। यस अवधिमा यात्रुहरूले टिकट वा कुनै पनि कार्ड प्रयोग गर्नुपर्ने छैन।
सरकारले यस कदमबाट दैनिक खर्च घटाउने, निजी सवारीको प्रयोग कम गर्ने तथा इन्धनको माग घटाउने अपेक्षा गरेको जनाएको छ।
यस निर्णयलाई अधिकांश यात्रुहरूले स्वागत गरेका छन्। तर केही विज्ञहरूले यसलाई अल्पकालीन समाधान मात्र भएको भन्दै दीर्घकालीन रूपमा सार्वजनिक यातायात पूर्वाधारमा लगानी आवश्यक रहेको बताएका छन्।
यसैबीच तस्मानिया ले पनि समान योजना लागू गरेको छ भने न्यु साउथ वेल्स र वेस्टर्न अष्ट्रेलिया ले हालसम्म यस्तो निर्णय लिएका छैनन्।

प्रतिक्रिया