मेलबर्न, अष्ट्रेलिया ।
गैरनाफामूलक संस्था एनआरएन अष्ट्रेलियाका विरुद्ध भिक्टोरियाको सुप्रिम कोर्टमा मुद्दा दर्ता भएको छ । गतवर्ष जुनमा सम्पन्न भएको निर्वाचनमा नक्कली मतदाता खडा गरिएको र त्यस्ता मतदाता बनाउने, स्वीकृत गर्ने व्यक्तिहरुउपर कुनै कारवाही नगरेको भन्दै अदालतमा मुद्दा दायर गरिएको हो । नक्कली सदस्य बनाउने र त्यसलाई स्वीकृत गर्ने पदाधिकारीको खोजी चुनावकै भोलिपल्टबाट गरिएपनि विभिन्न बहानामा त्यसलाई वार्षिक अधिवेशनसम्म टारिएको थियो ।
अधिवेशनमा औपचारिक रुपमा यस सम्बन्धी विषय उठेपछि बनाइएको छानविन समितिले कुनै कारवाही गरेको छैन । नक्कली सदस्य स्वीकृत गर्ने भिक्टोरिया राज्य भएको तत्कालीन एनआरएनका अध्यक्ष अनिल पोखरेलले स्वीकार गरेपनि कारवाहीको विषय भने पछि धकेलिएको थियो । तत्कालीन भिक्टोरिया राज्यका एनआरएन संयोजक एवं उपाध्यक्ष मणिरत्न सापकोटा पत्रकारहरुसँग सम्पर्कमा छैनन् ।
भिक्टारियाको सर्वोच्च अदालतमा भिक्टोरिया युवा संयोजक पदका उम्मेद्वार सनराईज ज्ञवालीले मुद्दा हालेका हुन् । मुद्दा दर्ताका लागि यसअघि नै निवेदन दिएको भएपनि त्यसमा प्राविधिक विषयवस्तुहरु नमिलेको कारण अहिले मात्र दर्ता भएको हो । ज्ञवालीले मुद्दा आफैं लड्ने बताएका छन् ।
मुद्दा दर्ता भएपछि केविसीखबरसँग कुरा गर्दै ज्ञवालीले अष्ट्रेलिया जस्तो ठाउँमा पनि उही नेपालकै पारामा जालझेल गर्ने अनि निश्चित दल वा समूहको सिन्डीकेट चलाउनेहरुका विरुद्ध आफुले न्यायको लडाईं लडेको बताए । उनले भने, “गलत भएको स्वीकार पनि गर्ने तर कारवाही नगर्ने प्रवृत्ति छ । दोष एउटाले अर्कोलाई पन्छाउने तर मुख्य अपराधीहरुलाई जोगाउने कुरा यहाँको कानूनले मान्दैन । यिनै व्यक्तिहरु अष्ट्रेलियाको कर्पोररेट सेक्टरमा काम गर्छन् । कोही माईग्रेसन एजेन्ट छन् कोही सरकारी कर्मचारी नै पनि छन् । तर, आफु र आफ्नो समूहलाई जोगाउन भने यिनीहरु कानूनको धज्जी समेत उडाउन पछि पर्दैनन् । यस्तो देखेपछि चुप लागेर बस्नु हुन्न भनेर मैले मुद्दा तयार गरेको थिएँ ।”

ज्ञवालीले भने “खर्च, समय लाग्ने अवस्था र नेपालको राजनीतिक दलहरुको दबाबका कारण धेरैजनाले बेथिती देखेर पनि आँखा चिम्लिनुभएको थियो होला, तर यस्तो कामलाई हामीले समर्थन गर्ने हो भने भोलिको पुस्ताले हामीलाई के भन्छ होला ?”
केविसीखबरले निरन्तर रुपमा नक्कली सदस्यताको विषयमा कारवाही हुनुपर्ने प्रश्न उठाउँदै आएको छ ।
अहिलेसम्म नक्कली सदस्य बनाउनेहरुको पहिचान हुन सकेको छैन । तत्कालीन कोषाध्यक्ष अर्जुन गौतमले सदस्य बन्ने व्यक्तिहरुको सदस्यता रकम समेत बल्कमा नै तिरिएको खुलासा गरिसकेका छन् । संस्थाको विधानले एकै घर परिवारका ४ जनाभन्दा बढी मानिसको सदस्यता शुल्क एउटै कार्डबाट तिर्न नमिल्ने नियम बनाएको छ । तर, यसलाई समेत मिचिएको पाइएको छ ।
नक्कली कागजात, ईमेल र फोन नम्बरका आधारमा करिब ४ सय नक्कली सदस्य भिक्टोरियामा मात्रै बनाइएका थिए । हामीले यस विषयलाई निरन्तर फलोअप गर्दा एनआरएन अष्ट्रेलियाका अहिलेका अध्यक्ष सन्तोष कुँवरले यो विषय टुंगिसकेको बताएका छन् । उनले महाधिवेशनबाट छानविन समिति बनाइए पनि त्यसले कुनै अनुसन्धान गर्ने अधिकार नराख्ने बताए । उनले केविसीखबरको जिज्ञासाको जवाफमा लेखेको ईमेल यस्तो छ –
एनआरएन अष्ट्रेलिया १६ हजारभन्दा बढी सदस्य भएको संस्था हो । यसले आफ्ना सदस्यहरुसँगै समग्र नेपाली समूदायको हितमा विभिन्न काम गर्दै आएको छ । अलपत्र परेका विद्यार्थीहरु, विभिन्न समस्यामा परेका नेपालीहरुको उद्धारमा उसले हजारौं डलर खर्च गर्दै आएको छ । अष्ट्रेलियाका विभिन्न राज्य सरकार सहित संघीय सरकारसम्म पनि पहुँच बनाएको एनआरएन अष्ट्रेलियाले दूतावाससँगको सहकार्यमा पासपोर्टका घुम्ती शिविरको व्यवस्थापन पनि गर्दै आएको छ । यस्तै यहाँका दोश्रो पुस्ताका बालबालिकाहरुलाई समेत जोड्ने कार्यका लागि संस्थाले परियोजनाहरु सञ्चालन गर्ने गरेको छ ।
अष्ट्रेलियाका आठवटै राज्य र टेरेटोरीहरुमा आफ्नो पहुँच बनाएको एनआरएन अष्ट्रेलियाले महिलाहरुलाई समेट्न नारी निकुञ्ज पनि सञ्चालन गर्दछ । यसमार्फत कैयौं परोपकारी कामहरु पनि भएका छन् । स्वयंसेवी रुपमा यसमा सहभागी हुने व्यक्तिहरुले गरेका कामले समाजमा राम्रो योगदान दिएको भएपनि चुनावमा नक्कली कागजातका आधारमा नक्कली सदस्यता बनाउने जस्तो गम्भीर अपराध भएको खुलेको थियो ।
यस्ता नक्कली सदस्यहरुलाई एनआरएनका पदाधिकारीहरुले स्वीकृत गरेर मतदानका लागि पठाएको भएपनि संकास्पद देखिएपछि मतदान गर्न पाउने सूचिबाट हटाइएको थियो । ति नक्कली सदस्य बनाउँदा गरिएको आर्थिक कारोबार, त्यसका लागि नेपालमा गरिएको समन्वय सबैको छानविन हुने हो भने संस्थाले आफ्नो छविलाई उज्यालो बनाउने कुरामा दुईमत छैन ।

प्रतिक्रिया