प्रहरीले पूर्वप्रधानमन्त्री ओली र मन्त्री लेखकलाई कति दिन हिरासत राख्न सक्छ ?

प्रहरीले पूर्वप्रधानमन्त्री ओली र मन्त्री लेखकलाई कति दिन हिरासत राख्न सक्छ ?



काठमाडौं । कार्की आयोगको सिफारिशका आधारमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकका बारेमा यतिबेला नेपालको राजनीति तरंगीत भएको छ । धेरैको चासो जरुरी पक्राउ पूर्जी थमाएर हिरासतमा लिइएका दुई नेताबारे अब के हुन्छ भन्ने जिज्ञासा रहेको छ । सर्वोच्चमा पर्ने बन्दी प्रत्यक्षीकरणको रिटबाट रिहाई बाहेकको अवस्थामा २५ दिनभित्र दुबै नेतालाई प्रहरीले अदालतमा मुद्दा लैजानुपर्ने हुन्छ । त्यसअघि हिरासतमा राख्नका लागि पनि अदालतमा निश्चित अवधि तोकेर माग गर्नुपनर््ेछ । यस मागउपर अदालतले तोके बमोजिमको दिनमा अनुसन्धान सम्पन्न गर्नुपर्ने दायित्व प्रहरीको हुने गर्दछ ।

आज विहान सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आएका ओलीलाई शनिबार बिहानै प्रहरीले पक्राउ गरेको थियो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षकको कमाण्डमा खटिएको टोली आज बिहान ५ बजे नै गुण्डु पुगेका थियो ।

ओली नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री रमेश लेखकलाई त्यसअघि नै भक्तपुरको कुटुन्जेस्थित निवासबाट पक्राउ गरिएको थियो । गत भदौ २३ गते भएको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले ओलीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो । गौरीबहादुर कार्की नेतृत्वको आयोगले चैत २४ मा बुझाएको प्रतिवेदनको आधारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई फौजदारी मुद्दामा कारबाही गर्ने सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा काठमाडौँको बानेश्वरमा किशोरहरूमाथि गोली प्रहार गरेको घटनामा आयोगले उहाँहरूलाई आरोप लगाएको हो ।