काठमाडौं । नागरिक सरकारको गृहमन्त्री ओमप्रकाश अर्यालका लागि पूरै कार्यकालभरी यदि कोही विरोधी थियो भने उनी थिए सुदन गुरुङ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक सहित जेन्जी आन्दोलन दबाएको आरोप लागेका सत्तासिनहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउनुपर्ने माग लिएर गृहमन्त्रालय पुगेका उनी आफ्नो माग पूरा नभएपछि सरकारकै विरोध गर्न पनि पछि हटेनन् । उनले सुरुमा प्रधानमन्त्रीकै पनि विरोध गरे । तर, पछि यो क्रम गृह मन्त्रीतर्फ सोझियो । लगभग हरेक पटक कारवाही गर्न खुट्टा कमाएको, कानूनको जानकार भनेर मन्त्री खान गएको, ओली र लेखक सहितका व्यक्ति पक्राउ गर्न नसकेको उनको गुनासै गुनासो हुन्यो । तर, उनै गुरुङ यतिबेला गृहमन्त्रीको पदमा पुगेका छन् । सरकारको बरियतामा तेश्रो उनी गृहमन्त्री बने लगत्तै मन्त्रालयमा पुगेर भिआईपी सवारकिो नाममा जनताले सास्ती नपाउने वातावरण बनाउन निर्देशन दिँदै थिए ।
साँझ बसेको मन्त्रिपरिषद्को बैठकबाट गरिएको पहिलो निर्णयमा भने अब कारवाहीको जिम्मा उनको हातमा आइपुगेको छ । अबको एक साताभित्र छानविन आयोगले कारवाही सिफारिश गरेका व्यक्तिहरुलाई अनुसन्धानका लािग हिरासतमा लिएर अघि बढ्ने चुनौती उनलाई छ ।
लापर्वाही गरी कसैको ज्यान जान नहुने कसुर अन्तर्गत तत्कालीन प्रधानमन्त्री, मन्त्री, प्रहरी प्रमुख, सशस्त्र प्रमुख, सेनाका केही कमाण्डरहरुलाई कारवाहीको सिफारिश भएको छ । सुरक्षा निकायका हकमा पछि अनुसन्धान गरी निक्र्यौल निकाल्ने तर अन्यका हकमा भने तत्कालै कार्यान्वयनमा जाने भनिएपछि यतिबेला एमालेका नेता महेश बस्नेतले प्रतिवाद गरिसकेका छन् । उनले धरपकड गर्ने कार्यले समाजलाई द्वन्द्वमा लैजाने चेतावनी पनि दिएका छन् । अबको केही दिनमा सुदनले कस्तो एक्सन देखाउँछन् त्यसैमा सरकारको गति निर्भर हुने देखिएको छ । पहिलो बैठकको निर्णय नै कार्यान्वयन गर्न नसकेको अवस्थामा सरकारको आलोचना हुने निश्चित छ भने कार्यान्वयनमा गएको अवस्थामा देशभर संगठन भएको एमालेले गर्ने विरोध अर्को चुनौती बनेर उभिने देखिएको छ । के गर्लान् सुदनले ?

प्रतिक्रिया