काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा बालेन्द्र शाह चयन भएका छन् ।
रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले बालेनलाई संसदीय दलको नेता चयन गरेको हो ।
बैठकमा सभापति रवि लामिछानेले पार्टी वरिष्ठ नेता शाहलाई संसदीय नेताका रूपमा चयन गर्न गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
संसदीय दलको नेता चयन भएपछि उनलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । चुनावमा बालेनलाई प्रधानमन्त्री बनाउने प्रस्तावसहित रास्वपा मैदानमा ओलिएको थियो भने १ सय ८२ सिटसहित विजय हासिल गरेको थियो । रास्वपाका सभापति रवि लामिछानेले चुनावी भाषणको क्रममा आफ्नी आमाले सपनामा आएर बालेनले देश बनाउँछ भन्ने उद्घोष गरेको बताएका थिए ।
प्रधानमन्त्रीका स्वत दावेदार रविले बालेनलाई अघि सारेपछि उनको यो कदमलाई कतिपयले त्यागको रुपमा चित्रण गरेका छन् । कतिपयले भने बालेनले रास्वपा नरोजेको भए अन्य दलकै जस्तो हालत रास्वपाको पनि हुने अड्कल गर्दछन् । रासस

प्रतिक्रिया