काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नव निर्वाचित प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले आफूहरू सरकारमा नजाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री बन्नुपर्ने बताएका छन् ।
सञ्चारकर्मीले देशका लागि राम्रो काम गर्न रास्वपाले सरकारमा बोलाए सहभागि हुने कि नहुने भनी राखेको जिज्ञासामा उनले सरकारमा सहभागी नहुने स्पष्ट पारे ।
उनले राम्रो काम गर्नेलाई श्रम संस्कृति पार्टीको सधैँ साथ र सहयोग हुने बताए । उनले भने ‘हामी राम्रो कामलाई साथ दिन्छौँ नराम्रो कामको सधैँ विरोध गर्छौँ ।’ उनले रास्वपाबाट बालेन नभई रवि लामिछाने प्रधानमन्त्री बन्नुपर्ने कुरा दोहोर्याए ।
सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले प्रतिपक्षले उठाएको प्रश्नको उत्तर दिन सक्ने मानिस मात्रै प्रधानमन्त्री हुनुपर्ने बताए ।
उनले भने ‘प्रतिपक्षीले सोधेको प्रश्नको उत्तर समय दिएर दिनुपर्छ ।’
उनले श्रम संस्कृति पार्टीलाई अहिले जनताले प्रश्न गर्ने ठाउँमा पुर्याएको बताए । उनले भने, ‘हामी प्रतिपक्षमा बसेर प्रश्न गर्छौँ । हामीले गरेको प्रश्नको उत्तर समय दिएर दिन सक्ने मान्छे प्रधानमन्त्री हुनपर्छ भनेको हो ।’
उनले लहर र लहडमा आफूहरूलाई जनताले मत नदिएको बताए । उनले भने, ‘हामीलाई किन प्रधानमन्त्री बनाउने मत आएन त्यो जनतालाई नै सोध्नुपर्छ ।’

प्रतिक्रिया